टेलिकमको प्रतिसेयर आम्दानी ८१.०५ रूपैयाँ, चिलिमेले पनि कमायो ९३ करोड

15 Aug,2016
  • Nepal-Telecom-Logo_8_15_2016_2_28_04.jpg
नेपाली पैसा
काठमाडौं : नेपाल टेलिकमले १२ अर्ब १५ करोड ७१ लाख ८९ हजार दुई सय ३४ रूपैयाँ खुद नाफा कमाएको छ ।

यो कमाई अनुसार कम्पनीको प्रतिसेयर आम्दानी ८१.०५ रूपैयाँ पुगेको छ भने मूल्य आम्दानी अनुपात ८.५० गुणामात्र छ । टेलिकमको प्रतिसेयर नेटवर्थ ५६९.७४ रूपैयाँ छ ।

प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात अनि प्रतिसेयर नेटवर्थ सबै हिसाबले टेलिकमको सेयर निकै सुरक्षित अनि सम्भावनायुक्त देखिन्छ ।

आकर्षक वित्तीय सूचक भए पनि टेलिकमको दोस्रो बजारमा सेयर भाउ माथि जान सकेको छैन । नेपाली लगानीकर्ता बोनस र हकप्रद सेयरतर्फ आकर्षित हुने गरेकाले यति राम्रो वित्तीय सूचक भएका कम्पनीको पनि भाउ तल भएको हो ।

यसबाहेक टेलिकमको चुक्ता पुँजी बढी छ । निश्चित समूहले होल्ड गर्न कठिन हुने भएकाले पनि भाउ अपेक्षा अनुसार माथि जान नसकेको विश्लेषकहरू बताउँछन् ।



यसैगरी, चिलिमे जलविद्युत कम्पनीले पनि प्रतिसेयर आम्दानी २९.६७ रूपैयाँ रहेको वित्तीय विवरण आइतबार सार्वजनिक गरेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ४८.५३ गुणा हुँदा प्रतिसेयर नेटवर्थ २३४.३६ रूपैयाँ देखिन्छ ।

लामो समयदेखि दोस्रो बजारमा चिलिमे १३ सय माथि अनि १५ सयभन्दा तलको भाउमा कारोबार भइरहेको देखिन्छ ।

चिलिमेले आर्थिक वर्ष २०७२–७३ मा ९२ करोड ९९ लाख ८६ हजार रूपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्ष कम्पनीको नाफा ८५ करोड ३० लाख ३० हजार रूपैयाँ थियो ।