Market Closed

सत्ताइस हाइड्रोपावर कम्पनीको यस्तो आयो वित्तीय अवस्था

29 Nov,2019
  • balance-sheet-_11_29_2019_5_25_22.jpg
नेपाली पैसा
 
काठमाडौं : नेप्सेमा सूचीकृत ३२ जलविद्युत् कम्पनीमध्ये २७ वटाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीहरुको नाफा–नोक्सान मिश्रित देखिएको छ । रसुवागढी, सान्जेन, माउन्टेन, पाँचथर पावर लगायतका कम्पनीहरु एक वर्ष यता नेप्सेमा सूचीकृत भएका नयाँ कम्पनी हुन् । यता, केही कम्पनीहरुले महत्वपूर्ण सूचकहरुलाई वित्तीय विवरणमा समावेश गरेका छैनन् । जसका कारण लगानीकर्ता सूचनाको हकबाट समेत बन्चित भएका छन् ।

प्रत्यक्ष नियामक निकाय नहुनुको यो नकारात्मक पाटो हो । धेरै जलविद्युत् कम्पनीहरुको दोस्रो बजारमा सेयर भाउ अंकित मूल्य (आइपीओ) भन्दा तल आएको देखिन्छ । त्यसैले लगानी गर्नुपूर्व कम्पनीहरुको वित्तीय विवरण राम्रोसँग अध्ययन गर्न आवश्यक छ । यहाँ हामीले असोज मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गर्ने २७ कम्पनीको तुलनात्मक अध्ययन गरेका छौं :
 
९ कम्पनीको चुक्ता पुँजी बढ्यो, धेरै पुँजी अपर तामाकोशीको
 
असोज मसान्तसम्मको तथ्यांक हेर्दा ९ जलविद्युत् कम्पनीको चुक्ता पुँजी बढेको छ । यसअवधिमा अपर तामाकोशी र हिमालय उर्जाले आइपीओ जारी गरेकाले दुवैको पुँजी ३३.३३% ले बढेको छ । अपर तामाकोशीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपेयाँ पुगेको छ ।




यो नै सबैभन्दा धेरै चुक्ता पुँजी भएको हाइड्रोपावर कम्पनी पनि हो । यता, १६ कम्पनीको चुक्ता पुँजी गत वर्षकै यथावत रहेको छ । 
 
१२ हाइड्रोपावरको जगेडा कोष बढ्यो, धेरै बढ्नेमा कालिका पावर
 
पहिलो त्रैमासमा १२ कम्पनीको जगेडा कोष बढेको छ । सबैभन्दा धेरै जगेडा कोष बढाउनेमा कालिका पावर कम्पनी रहेको छ । यसको जगेडा कोष १२२९.९६% ले बढेर ३ करोड ६९ लाख ३३ हजार रुपैयाँ पुगेको छ । चिलिमेको जगेडा कोष भने ९.१९% ले घटेर ४ अर्ब ७५ करोड ९९ लाख १७ हजार रुपैयाँमा झरेको छ ।




तथापि, यो नै सबैभन्दा धेरै जगेडा कोष भएको कम्पनी हो । रिडी हाइड्रोपावरको जगेडा कोष पनि ६.५५% ले घटेको छ । जगेडा कोष घट्ने कम्पनी यी दुई हुन् । १२ कम्पनीको जगेडा कोष भने ऋणात्मक रहेका छन् । 
 
१२ हाइड्रोपावरको नाफा बढ्यो
 
पहिलो त्रैमासमा १२ हाइड्रोपावर कम्पनीको नाफा बढेको छ । यसअवधिमा सबैभन्दा धेरै नाफा बढाउनेमा रैराङ हाइड्रोपावर रहेको छ । यसको नाफा ५६९.५७% ले बढेर ७९ लाख ६८ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसैअवधिमा यसको नाफा ११ लाख ९० हजार रुपैयाँ रहेको थियो । रकममा सबैभन्दा धेरै नाफा कमाउनेमा चिलिमे हाइड्रोपावर रहेको छ ।




चिलिमेको नाफा १८.९८% ले घटेर २१ करोड ७० लाख ३० हजार रुपैयाँमा आएको हो । तर पनि यसकै नाफा सबैभन्दा धेरै देखिन्छ । यता, ७ हाइड्रोपावर कम्पनीहरु नोक्सानमा रहेका छन् । माउन्टेन र पाँचथर पावरको गत वर्षको नाफा समावेश छैन । हिमालयन पावर पार्टनरले नाफालाई वित्तीय विवरणमा समावेश गरेको छैन । 
 
९ कम्पनीको प्रतिसेयर आम्दानी बढ्यो
 
असोज मसान्तसम्म आइपुग्दा ९ कम्पनीको प्रतिसेयर आम्दानी बढेको छ । धेरै प्रतिसेयर आम्दानी बढ्नेमा कालिका पावर कम्पनी रहेको छ । कालिकाको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ६८ पैसाले बढेर १६ रुपैयाँ ५५ पैसा पुगेको छ ।




यता, चिलिमे हाइड्रोपावरको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७९ पैसाले घटेर १८ रुपैयाँ २४ पैसामा झरेको छ । यद्दपि, यो नै सबैभन्दा धेरै प्रतिसेयर आम्दानी भएको कम्पनी हो । 
 
* माउन्टेन हाइड्रो यसै वर्षदेखि सञ्चालनमा आएकाले अघिल्लो वर्षको वित्तीय विवरण छैन ।
* पाँचथर पावर कम्पनी यसै वर्षदेखि सञ्चालनमा आएकाले अघिल्लो वर्षको वित्तीय विवरण छैन ।
* हिमालयन पावर पाटर्नरले रिजर्भ फन्ड, खुद नाफा, प्रतिसेयर आम्दानी लगायतको मुख्य सूचक वित्तीय विवरणमा राखेको छैन । 

Post Your Comment