Market Closed

चिलिमे हाइड्रोपावर : आधारभूत र प्राविधिक विश्लेषणले कस्तो देखाउँदैछ अवस्था ?

11 Oct,2020
  • chilime-hydropower-company-ltd_8_12_2018_10_23_11.jpg
नेपाली पैसा 
 
काठमाडौं : स्वदेशी पुँजी, प्रविधि र स्रोत साधनको उचित उपयोग गर्दै जलविद्युत उत्पादनको उद्देश्यका साथ १९९५ मा चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड सथापना भएको हो । यसमा नेपाल विद्युत प्राधिकरणको  ५१ र १० प्रतिशत स्थानीयसमेत गरी ४९ प्रतिशत सर्वसाधारणको सेयर हिस्सा छ । यसले ३ वटा जलविद्युत कम्पनीहरु  १११ मेगावाट क्षमताको रसुवागढी, १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी, १४.८ मेगावाट क्षमताको सान्जेन माथिल्लो र ४२.५ मेगावाट क्षमताको सान्जेन जलविद्युत आयोजनाहरु निर्माण गरिरहेको छ । यिनीहरुको कुल जडित क्षमता २७०.३० मेगावाट हुनेछ ।

यसैगरी,  सरकारले घोषणा गरेको जनताको जलविद्युत कार्यक्रम अन्तर्गत ५ वटा जलविद्युत आयोजनाहरु क्रमशः ४२० मेगावाट क्षमताको बूढीगण्डकी प्रोक (बूढी गण्डकी प्रोक–१, २ र टम खोला जलविद्युत आयोजनाहरु), १६५ मेगावाट क्षमताको सेतीनदी—३ र ६० मेगावाट क्षमताको चुमचेत स्यार खोलाको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न शतप्रतिशत लगानी रहेको चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेज कम्पनी लिमिटेडसँग सम्झौता गरी अध्ययन कार्य अगाडि बढाएको छ ।

 
चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमामसमा खुद नाफा शून्य दशमलव २५ प्रतिशतले वृद्धि गरी ७४ करोड ८० लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा यस कम्पनीले ७४ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको अन्त्यसम्ममा यसको विद्युत बिक्रीबाट हुने आम्दानी भने २ दशमलव ५४ प्रतिशतले घटेको छ ।

यसअवधिमा यसले विद्युत बिक्रीबाट १ अर्ब १४ करोड ७ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यसले विद्युत बिक्रीबाट १ अर्व १७ करोड रुपैयाँ आम्दानी गरेको थियो । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २ दशमलव ५४ प्रतिशतले कम हो । नेपाल विद्युत प्राधिकरणले आफ्नो आवश्यकता अनुसार मात्र अधिक विद्युत खरिद गर्ने व्यवस्था रहेको छ । 

चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको चौथो त्रैमासको वित्तीय विवरण


कम्पनीले नेपाल विद्युत प्राधिकरणमा अतिरिक्त ऊर्जा बिक्री गर्दै आएकोमा विश्वव्यापी रुपमा फैलिएको  कोभिड १९ प्रभावका कारण अधिक उत्पादन बिक्री गर्न नसकेको हो । यस कारण कम्पनीको विद्युत बिक्री आम्दानी केही घटेको वित्तीय विवरणमा उल्लेख गरिएको छ ।  चौथो त्रैमास अनुसार कम्पनीको वित्तीय आम्दानी २६.८२ प्रतिशतले  बढेर १५ करोड २५ लाख रुपैयाँ र  अन्य आम्दानी ६.८६ प्रतिशतले बढेर ६० लाख ४८ हजार पुगेको छ ।

सञ्चालन तथा उपकरण मर्मत खर्च भने १२.८४ प्रतिशतले घटेर ७ करोड ६२ लाखमा आएको छ । प्रशासनिक खर्च पनि ४.१५ प्रतिशतले घटेर ५ करोड ३३ लाखमा झरेको छ । गत वर्ष नयाँ कर्मचारी थप तथा रोयल्टी खर्चमा वृद्धि तथा प्लान्टमा जडित उपकरण लगायतका मर्मत सम्भार कार्यका कारण खर्च वृद्धि भएको हो । यस कम्पनीको चुक्ता पुँजी २० प्रतिशतले बढेर ५ अर्ब ७० करोड ९७ लाख रुपैयाँ पुगेको छ । जगेडा कोषमा ४ अर्ब २९ करोड ६२ लाख रुपैयाँ सञ्चित छ ।

चिलिमे हाइड्रोपावर कम्पनीको विगत ५ वर्षको वित्तीय विवरण 


अघिल्लो आर्थिक वर्ष यस कम्पनीको जगेडा कोषमा ४ अर्ब ५४ करोड २८ लाख रुपैयाँ सञ्चित रहेको थियो । अघिल्लो वर्ष चुक्ता पुँजी ४ अर्ब ७५ करोड ८१ लाख रुपैयाँ थियो । गत वर्षको २० प्रतिशत बोनसपछि पुँजी थप वृद्धि भएको हो । चिलिमेको प्रतिसेयर  १३ रुपैयाँ १६ पैसा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ २४ पैसा छ 
 
प्राविधिक विश्लेषण


 
हाइड्रोपावर समूह विगत १ महिनायता निकै गतिशील भएको छ । यस समूहको  परिसूचक करिब १६०० विन्दु आसपाससम्म पुगेर केही करेक्सन भएको देखिन्छ । कतिपय जलविद्युत कम्पनीको मूल्य २ गुणा हाराहारीमा बढ्यो । चिमिलेको मूल्य पनि करिब ४ सय रुपैंयाबाट बढेर अहिले ५ सय रुपैयाँभन्दा माथि अडिएको छ । 

 
अन्य प्राविधिक सूचक
 
१४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स    
 
यस साता  कारोबार बन्द हुँदा (गत बिहीबार) १४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ४४ दशमलव ७२ बाट घटेर ६८  को स्केलमा पुगेको छ । यसले बिक्री चाप स्थिर रहेको देखिन्छ । यस औजारले ४० देखि ५० को स्केल रहेसम्म न्युट्रल क्षेत्रमा रहेको देखाउँछ । लिडिङ औजार मानिने १४ दिने आरएसआई कारोबारका लागि ऋणात्मक तथा धनात्मक डाइभोजेन्स आदिको प्रयोग हुने भएकाले कुनै पनि बजारको ठूलो परिवर्तनको पूर्ण संकेत अर्थात रणनीति परवर्तनको लागि प्रयोग हुने औजार मानिन्छ । 
 
मैनबत्ति आकृति विश्लेषण
 
गत साता कारोबार बन्द हुँदा स्याडो सहितको वियारिस मैनबत्ति बनेको छ । सुरुवाती अवस्थामा लगानीकर्ताले सेयर खरिद तेजी गरे पनि कतिपयले नाफा बुक गरेको यसले देखाउँछ । 
 
कमोडिटी च्यानल इन्डेक्स
 
गत हप्ता बिहीबार कारोबार बन्द भएसँगै कमोडिटी च्यानल इन्डेक्सले ४३  को स्केलबाट बढेर  ११५  को स्केलमा आएको छ । सीसीआई धनात्मक १०० तथा ऋणात्मक १०० मा विभाजन गर्दछ । यदि, बजार धनात्मक १०० भन्दामाथि गयो भने बढ्ने र ऋणात्मक १०० को स्केल भन्दा तल गएपछि घट्ने संकेत गरेको मानिन्छ ।
 
निष्कर्ष
 
यस कम्पनीले ३ वटा महत्वपूर्ण जलविद्युत कम्पनीहरु रसुवागढी, मध्यभोटेकोशी, सान्जेन  जलविद्युत आयोजनाहरुको  निर्माण कार्य अघि बढाइरहेको छ । चिलिमेले शतप्रतिशत लगानी रहेको चिलिमे इन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनी मार्फत विभिन्न आयोजनाको  सम्भाव्यता अध्ययन कार्य अगाडि बढाएको छ । यसरी हेर्दा दीर्घकालका लागि यो एउटा राम्रो कम्पनी हुन सक्छ । अहिले कोभिड–१९ प्रभावका कारण मुलुकमा आर्थिक गतिविधिमा शिथिलता आएको अवस्था छ । यतिबेला बैंक ब्याजदर घटेको छ । यसले गर्दा पनि हाइ«ोपावर परियोजनाहरुलाई ब्याजमा राहत मिल्ने देखिन्छ । 
 
यस कम्पनीको बजार मूल्य हेर्दा केही समययता भाउ ५ सय रुपैयाँ माथि रहेको छ । तर गत साताको अन्तिम दिनमा केही बिक्री चाप पनि आएको छ । १४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ७२ बाट घटेर  ६८  को स्केल र  स्याडो सहितको वियारिस मैनबत्ति तथा कमोडिटी च्यानल इन्डेस्कले ४३ स्केलबाट बढेर  ११५  को स्केलमा आएको छ । मूल्य अस्थिरता मापन गर्ने औजारबाट हेर्दा केही समयका लागि मूल्य स्थिर रहने सम्भावना रहेको छ । अहिलेको अवस्थामा यस कम्पनीको मूल्य अवरोध ५६५ रुपैयाँ तथा टेवा ४९५ रुपैयाँमा रहेको छ । 
 
(सावधानी : गत बिहीबारको बजारका आधारमा यो प्राविधिक विश्लेषण गरिएको हो । साथै, यो विश्लेषण आफैंमा पूर्ण पनि होइन । लगानी सम्बन्धी निर्णय लिंदा आफ्नै अध्ययन र विवेक प्रयोग गर्न अनुरोध गरिन्छ ।) 
 

Post Your Comment