Market Closed

सिटिजन्स बैंकको वेविनारमा विशेष साधारण सभा बस्दै, सहयोगीलाई एक्वायर प्रमुख एजेन्डा

02 Jun,2020
  • Citizen-bank-international-LTD_12_31_2018_10_39_56.jpg
नेपाली पैसा
 
काठमाडौं : सिटिजन्स बैंकले जेठ २७ गते विशेष साधारण सभा बोलाएको छ । सभामा सहयोगी विकास बैंकलाई १ः०.९१७५ कित्ता सेयर दिने गरी प्राप्ति (एक्वायर) गर्ने मुख्य एजेन्डा पेश हुँदैछ । दुवै बैंक एक भएपछि सहयोगीका सेयरधनीले आफ्नो १०० कित्ता सेयर बराबर सिटिजन्स बैंकको ९१.७५ कित्ता सेयर पाउनेछन् । बैंकको प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।
 
विशेष साधारणसभा बैंकको प्रधान कार्यालय नाराणहिटी पथ, दरबारमार्गमा बिहान ११ बजेदेखि वेविनारमार्फत गरिने बैंकले जनाएको छ । बैंकले यसअघि गत चैत १० गते आह्वान गरेको विशेष साधारणसभा कोरोना भाइरसका कारण सरकारले एकै ठाँउमा २५ जनाभन्दा धेरै भेला हुन बन्देज लगाएपछि स्थगित भएको थियो । दुवै बैंकले यसअघि नै एक्वायर गर्ने अन्तिम समझदारी पत्रमा हस्ताक्षर गरीसकेका छन् ।

अब दुवैले आ—आफ्नो विशेष वा वार्षिक साधारण सभाबाट प्राप्ति सम्बन्धि विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पाएपछि एकीकृत कारोबार सुरु गर्नेछन् । दुवै बैंकले गत असार २२ गते प्राप्तिका लागि प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेका थिए । २०७६ पौष २७ गते सम्मको तथ्यांकका आधारमा सिटिजन्स बैंकले सहयोगीलाई प्राप्ति गरेपछि निक्षेप ८३ अर्ब २४ करोड रुपैयाँ पुग्नेछ भने ऋण लगानी ७३ अर्ब ९९ करोड रुपैयाँ हुनेछ ।

प्राप्ति पश्चात बैंकको कुल शाखा ९९ वटा हुनेछ । हाल सिटिजन्सको चुक्ता पुँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । प्राप्तिपछि पँुजी ९ अर्ब ८ करोड रुपैयाँ हुनेछ । धनुषा, महोत्तरी र सिन्धुली जिल्ला कार्यक्षेत्र भएको सहयोगी विकास बैंकले १४ वटा शाखाहरूबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 

सभा प्रयोजनार्थ बैंकले चैत ३ गते बुकक्लोज गरेको थियो । यसअनुसार चैत २ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन पाउनेछन् । 
 
 
 

Post Your Comment