पहिलो त्रैमासमै यसरी चम्कियो सिटिजन्स, खुद नाफा ३४ करोड ५१ लाख

21 Oct,2016
  • citizen_10_21_2016_10_53_52.jpg
नेपाली पैसा 
 
काठमाडौं : सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफामा तरक्की गरेको छ । 
 
बैंकले पहिलो आवमा नै खुद नाफा ३४ करोड ५१ लाख ५७ हजार रूपैयाँ पुर्याएको छ । जबकी गत वर्ष यसै अवधिमा बैंकको नाफा जम्मा १४ करोड २७ लाख ८० हजार रूपैयाँमात्र थियो । 
यो तथ्यांकले बैंकको नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २० करोड २३ लाख ७७ हजार रूपैयाँले बढेको देखिन्छ । 
 
चुक्ता पुँजी बढे अनुपातमा बैंकको नाफा संकुचित हुने हो कि भन्ने आमअपेक्षा विपरीत सिटिजन्सले पुँजीसँगै नाफा पनि बढोत्तरी गर्न सफल भएको छ । 
 
सिटिजन्सको चुक्ता पुँजी पाँच अर्ब ५३ करोड ७३ लाख ५२ हजार रूपैयाँ पुगेको छ । चुक्ता पुँजी बढ्दै जाँदा बैंकको रिजर्भ भने संकुचित हुँदै गएको देखिन्छ । 
 
असोज मसान्तसम्म आइपुग्दा सिटिजन्सको रिजर्भमा एक अर्ब ६४ करोड ८२ लाख १७ हजार रूपैयाँ मात्र देखिन्छ । तर रिजर्भ पनि गत वर्षको यही अवधिको तुलनामा भने बढेको हो । बैंकले ५० अर्बभन्दा बढी निक्षेप संकलन गर्दा ४३ अर्बभन्दा बढी लगानी गर्न पनि सफल भएको छ । 
 
सिटिजन्सले सम्भावित जोखिमका लागि ६ करोड २५ लाख ११ हजार रूपैयाँ छु्ट्याएको छ भने यसअघि प्रोभिजनमा राखेको ४४ करोड ५८ लाख सात हजार रूपैयाँ राइट ब्याक गर्न पनि सफल भएको छ । 
 
यस आधारमा बैंकको खुद नाफा बढ्नुमा राइट ब्याकको पनि हात रहेको देखिन्छ । बैंकको खराब कर्जा अनुपात १.७३ प्रतिशत, प्रतिसेयर आम्दानी २४.९३ रूपैयाँ र प्रतिसेयर नेटवर्थ १२९.७७ रूपैयाँ छ ।