विकास बैंकहरु मध्ये कुन सबैभन्दा अब्बल, नाफामा को अघि ?

13 Feb,2020
  • profit-margin-increase-1_2_13_2020_8_25_54.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेप्सेमा सूचीकृत १० राष्ट्रियस्तरका विकास बैंकले पुस मसान्तसम्म आइपुग्दा २ अर्ब ७२ करोड ३९ लाख ४८ हजार रुपैयाँ नाफा कमाएका छन् । यो गत वर्षको भन्दा १२.३४% ले बढी हो । गत वर्ष बैंकहरुले २ अर्ब ४२ करोड ४६ लाख २३ हजार रुपैयाँ नाफा कमाएका थिए । पछिल्लो समय विकास बैंकहरुमा मर्जर–एक्विजिसनको लहर छ । अधिकांश विकास बैंकहरु वाणिज्य बैंकसँग मर्जर तथा एक्विजिसनमा जान थालेका छन् । १० राष्ट्रियस्तरका विकास बैंकहरुमध्ये पनि केहीले मर्जर तथा एक्विजिसन सम्झौतामा हस्ताक्षर गरेकाले दोस्रो बजारमा सेयर कारोबार रोक्का रहेको छ । यसैबीच हाल कायम रहेका यी बैंकहरुको खुद नाफा, चुक्ता पुँजी, जगेडा कोष, खुद ब्याज आम्दानी र प्रतिसेयर आम्दानीको तुलनात्मक अध्ययन गरेका छौं :
 
८ विकास बैंकको नाफा बढ्यो 
 
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ८ बैंकको नाफा बढेकोछ । नाफा घट्नेमा देवः विकास र गण्डकी विकास बैंक रहेका छन् । सबैभन्दा धेरै नाफा बढ्नेमा ज्योति विकास बैंक रहेको छ । ज्योतिको नाफा ६४.७६% ले बढेर २८ करोड ८ लाख ३४ हजार रुपैयाँ पुगेको छ ।



यता, सबैभन्दा धेरै नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक रहेको छ । यसको नाफा ९.९३% ले बढेर ४७ करोड २५ लाख १२ हजार रुपैयाँ पुगेको छ । कैलाश र महालक्ष्मी विकास बैंकको नाफा ३० करोड माथि रहेको छ । 
 
८ बैंकको चुक्ता पुँजी बढ्यो
 
१० विकास बैंक मध्ये ८ बैंकको चुक्ता पुँजी बढेको छ । गत वर्ष कै पुँजी यथावत हुनेमा सांग्रिला डेभलपमेन्ट र गण्डकी विकास बैंक रहेको छ । यी दुवै बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई नगद लाभांश मात्रै दिएकाले पुँजी यथावत रहेको हो ।



यसअवधिमा सबैभन्दा धेरै चुक्ता पुँजी बढाउनेमा मुक्तिनाथ विकास बैंक रहेको छ । यसको पुँजी ४१.११% ले बढेर ४ अर्ब ३२ करोड ४९ लाख ८९ हजार रुपैयाँ पुगेको छ । यो नै सबैभन्दा धेरै चुक्ता पुँजी भएको बैंक हो । 
 
को जगेडा कोष घट्नुको यस्तो छ कारण
 
पुस मसान्तसम्म आइपुग्दा ८ बैंकको जगेडा कोष घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणमा एनएफआरएस प्रणाली अनुसार रिटेन्ड अर्निङ र रिजर्भ कोष बेग्लाबेग्लै शीर्षकमा राखिएकाले धेरैको रिजर्भ घटेको देखिएको हो । तथापि, दुवैलाई जोड्दा रिजर्भमा पनि सुधार भएको पाउन सकिन्छ ।



अघिल्लो वर्षको दोस्रो त्रैमासमा भने पुरानो ढाँचाको वित्तीय विवरणमा भने ‘रिजभ एन्ड सरपल्स’ एउटै शीर्षकमा समावेश गरिन्थ्यो । यसर्थ, तुलनात्मक अध्ययन गर्दा यस पक्षमा पनि ध्यान दिनुपर्ने हुन्छ । जगेडा कोष बढ्नेमा ज्योति र महालक्ष्मी विकास बैंक रहेको छ । 
 
१० वटै बैंकको खुद ब्याज आम्दानी बढ्यो
 
पुस मसान्तसम्म आइपुग्दा १० वटै बैंकको खुद ब्याज आम्दानी बढेको छ । यसअवधिमा सबैभन्दा धेरै खुद ब्याज आम्दानी बढ्नेमा ज्योति विकास बैंक रहेको छ । ज्योतिको खुद ब्याज आम्दानी ५७.९०% ले बढेर ७३ करोड ६९ लाख १ हजार रुपैयाँ पुगेको छ ।



सबैभन्दा धेरै खुद ब्याज आम्दानी मुक्तिनाथ विकास बैंकको रहेको छ । मुक्तिनाथको खुद ब्याज आम्दानी १९.५४% ले बढेर १ अर्ब ९ करोड ८७ लाख ४९ हजार रुपैयाँ पुगेको छ ।
 
५ विकास बैंकको प्रतिसेयर आम्दानी बढ्यो
 
पुस मसान्तसम्म आइपुग्दा ५ बैंकको प्रतिसेयर आम्दानी बढेको छ भने ५ बैंकको घटेको छ । यसअवधिमा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी बढाउनेमा महालक्ष्मी विकास बैंक रहेको छ ।



यसको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ९६ पैसाले बढेर वार्षिक १९ रुपैयाँ ८६ पैसा पुगेको छ । यता, सबैभन्दा धेरै प्रतिसेयर आम्दानी मुक्तिनाथ विकास बैंकको वार्षिक २२ रुपैयाँ १३ पैसा रहेको छ । 





 
 

Post Your Comment