कुमारी बैंकले नाफा १० करोड बढायो, ब्याज आम्दानी मात्रै ७५ करोड

15 May,2016
  • kumari-bank_5_15_2016_1_07_48.jpg
नेपाली पैसा 
काठमाडौं ः कुमारी बैंकले १० करोडभन्दा धेरैले नाफा बढाएको छ । 
 
बैंकले आइतबार सार्वजनिक गरेको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार खुद नाफा ३५ करोड ४९ लाख ८४ हजार रूपैयाँ पुगेको छ । 
 
यो गत वर्षको यसै बेलाको तुलनामा १० करोड ३६ लाख ३६ हजार रूपैयाँले बढी हो । गत वर्ष चैत मसान्तसम्ममा कुमारीले जम्मा २५ करोड १३ लाख ४८ हजार रूपैयाँ खुद मुनाफा बुक गरेको थियो । 
 
बैंकले खुद ब्याज आम्दानीमात्रै ७५ करोड चार लाख ८० हजार रूपैयाँ पु¥याएको छ । फि, कमिसन तथा डिस्काउन्ट शीर्षकमा बैंकको कमाई १० करोड ९८ लाख ६० हजार रूपैयाँ छ । यसैगरी, बैंकले विदेशी मुद्राको कारोबारबाट आठ करोड १० लाख ९२ हजार रूपैयाँ कमाउन सफल भएको छ । 
 
मर्ज प्रक्रियामा रहेको कुमारीको चुक्ता पुँजी दुई अर्ब ६९ करोड ९१ लाख ६७ हजार रूपैयाँ छ भने रिजर्भ कोषमा एक अर्ब ३१ लख ३३ हजार रूपैयाँ जम्मा भइसकेको छ । बैंकले निक्षेप परिचालन र ऋण लगानीलाई पनि विस्तारै बढाउँदै लगेको वित्तीय विवरणले दखाएको छ ।

गएको चैत मसान्तसम्म बैंकले ३४ अर्ब ८२ करोड १६ लाख २० हजार रूपैयाँ निक्षेप संकलन गरी २८ अर्ब ६९ करोड ५८ लाख ९७ हजार रूपैयाँ ऋण लगानी गरेको छ । सम्भावित जोखिमका लागि १५ करोड ९१ लख ९० हजार रूपैयाँ प्रोभिजन गर्दा १५ करोड ७० लाख ६८ हजार रूपैयाँ राइट ब्याक पनि भएको छ । 
 
बैंकको खराब कर्जा अनुपात भने अलि बढी देखिन्छ । चैत मसान्तसम्ममा खराब कर्जा अनुपात २.०३ प्रतिशत छ भने प्रतिसेयर आम्दानी १९ रूपैयाँ ४३ पैसा पुगेको छ ।