Market Closed

लक्ष्मी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

08 Nov,2019
  • debenu=ture_11_8_2019_10_53_58.jpg
नेपाली पैसा 
 
काठमाडौं : लक्ष्मी बैंकको ऋणपत्र भर्ने आज शुक्रबार (कात्तिक २२ गते) अन्तिम दिन हो । शुक्रबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । बैंकले असोज २३ गतेदेखि २० लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये ८ लाख युनिट सर्वसाधारणका लागि छुट्याइएको छ । सामूहिक लगानी कोषलाई ५% राखिएको छ ।
 
सामूहिक लगानी कोषहरुले कुल ४० हजार इकाईमा आवेदन दिन पाउनेछन् । बाँकी १२ लाख इकाई भने बैंकले आफ्नै पहलमा कर्पोरेट हाउस तथा अन्य संस्थाहरुलाई बेच्नेछ । यस ऋणपत्रमा वार्षिक १०% ब्याजदर पाइनेछ । 
 
बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याएको हो । न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले १० वर्ष अवधिको ‘१०% लक्ष्मी बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र बिक्रीमा ल्याएको हो । 
 
बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गरेको छ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले मध्यम खालको सुरक्षा जनाउने एलबीबीबी प्लस रेटिङ दिएको छ । पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी परिचालनका लागि ऋणपत्र जारी गर्ने क्रम बढेको छ । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०% ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्ने हुन्छ । 
 
तर ऋणपत्रमा सर्वसाधारणको चासो भने निकै कम देखिएको छ । दोस्रो बजारबाट कारोबार गर्न उत्साह नदेखिएकाले पनि ऋणपत्रमा आवेदन दिनेहरु कम देखिएको विश्लेषण गरिंदैछ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
 

Post Your Comment