Market Closed

माउण्टेन इनर्जीको आइपीओ बुधबार बिहान १० बजे बाँडफाँट हुँदै

01 Dec,2020
  • ipo_news_7_3__7_9_2020_11_08_27_11_29_2020_6_15_46_12_1_2020_12_36_31.jpg
नेपाली पैसा

काठमाडौं :  माउण्टेन इनर्जीको आइपीओ बुधबार (मंसिर १७ गते) बिहान १० बजे बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार बिहान १० बजे माउण्टेन इनर्जीको कार्यालय डिल्लीबजार काठमाडौंमा बाँडफाँट हुने कार्यक्रम तय भएको छ । यो आइपीओको प्रि–अलोटमेन्ट आइतबार नै सम्पन्न भइसकेको छ ।

माउण्टेनको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । यो आइपीओमा कुल १ अर्ब ३९ करोड ४४ लाख ४१ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । जसमा ६ लाख ७४ हजार जनाले १ करोड ३९ लाख ४४ हजार ४१० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको १८ लाख ३० हजार २६५ कित्तालाई आधार मान्दा ७.६१ गुणा बढी आवेदन हो ।
 
यसमा १ लाख ८३ हजार २६ जना आवेदकले मात्र १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १ लाख ८३ हजार जनालाई १० कित्ताका दरले सेयर वितरण गर्दा सर्वसाधाणको लागि बिक्री खुला गरिएको १८ लाख ३० हजार २६५ कित्ता सेयर समाप्त हुनेछ । यसआधारमा अहिलेको मोटामोटी तथ्यांक अनुसार ४ लाख ९० हजार ९७३ जनाको हात खाली हुनेछ ।
 
माउण्टेनले कात्तिक २६ गतेबाट मंसिर ३ गतेसम्म १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्कासन गरेको थियो । यसमध्ये २% अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीलाई र ५% अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो । सर्वसाधारण लगानीकर्ताले बाँकी १८ लाख ३० हजार २६५ कित्ता सेयरका लागि आवेदन दिन सक्ने व्यवस्था थियो ।
क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको थियो ।
 
यसले औसत भन्दा कम आधार जनाउने रेटिङ पाएको हो । माउण्टेनले म्याग्दीको नीलगिरी खोलामा ३८ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीको विवरणपत्रमा उल्लेख गरिएको विवरण अनुसार आर्थिक वर्ष २०७८–७९ मा प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ८० पैसा र प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ २८ पैसा पुग्ने प्रक्षेपण गरिएको छ । यसमा चन्दप्रसाद ढकाल, मीनबहादुर गुरुङ, प्रमोदकुमार खेतान, प्रदिपजंग पाण्डे लगायतको प्रमुख लगानी रहेको छ ।
 

Post Your Comment