Market Closed

कुन बैंकले कति ब्याजदरमा दिंदैछन् सेयर कर्जा ? हेर्नुहोस् तथ्यांक

07 Jan,2020
  • base_rate_1_7_2020_5_56_34.jpg
नेपाली पैसा
 
काठमाडौं : बैंकहरुले मंसिर महिनामा कायम भएको बेस रेट (आधार दर) धमाधम सार्वजनिक गरिरहेका छन् । त्यसो त अहिले पुस महिना पनि अन्तिमतिर आउँदैछ । तर बैंकहरुले अर्को महिनाको पनि मध्यतिर पुगेपछि मात्र अघिल्लो महिनाको आधार दर सार्वजनिक गर्ने गरेका छन् । यसआधारमा अब पुसको आधार दर माघ दोस्रो सातातिर मात्र सार्वजनिक हुनेछ । यसमा पनि सबै बैंकहरुले अघिल्लो महिनाको आधार दर सार्वजनिक गरेको देखिंदैन ।

यद्दपि, केही बैंक तथा वित्तीय संस्थाले त्रैमासिक रुपमा आधारदर सार्वजनिक गर्दै आएका छन् । यसर्थ, केही बैंकको अहिले पनि असोज वा कात्तिकमा कायम भएकै बेस रेट देखिन्छ । आधार दरकै आधारमा ब्याजदर निर्धारण हुने भएकाले यसलाई निकै महत्वपूर्ण मानिन्छ । आम लगानीकर्ता, बचतकर्ता र ऋणीहरुले यसलाई विशेष ध्यान दिने गर्छन् । बैंकहरुले आधार दरमा निश्चित प्रतिशत प्रिमियम थपेर ग्राहकसँग लिने ब्याजदर निर्धारण गर्छन् । मंसिरको तथ्यांक अनुसार बैंकहरुको आधार दर क्रमशः घट्दै गएको देखिन्छ ।

यसर्थ, पुसमा यो अझै घटेको अनुमान छ । किन भने बैंकहरुले ब्याजदर घटाएर ऋण प्रवाह गर्न थालिसकेका छन् । बैंकहरुको महिनै पिच्छे परिर्वतन हुने बेस रेटले ब्याजदरमा फरक पार्ने गर्दछ । बेस रेटमा बैंकको आवश्यकता र क्षमतालाई आधार मानेर त्यसमा केही प्रतिशत प्रिमियम थप गरेर कर्जाको ब्याज निर्धारण गरिन्छ । पछिल्लो वित्तीय क्षेत्रमा लगानी योग्य पुँजी (तरलता) सहज हुँदै गएको छ । यसले ब्याजदर घटाउन थप सहयोग पुग्नेछ । 


यही बेला केन्द्रीय बैंकले अहिले आवधिक, घर तथा हायर पर्चेज कर्जामा कडाई गरेको छ । केन्द्रीय बैंकले नयाँ निर्देशन जारी गर्दै यी क्षेत्रमा अब आफ्नो आम्दानीको ५०% सम्म मात्र ऋण लिन पाइने भनेको छ । बैंक तथा वित्तीय क्षेत्रबाट सबैभन्दा धेरै कर्जा यही ३ क्षेत्रमै प्रवाह हुँदै आएको थियो । यसमा केन्द्रीय बैंकले अब सुक्ष्म निगरानी गर्ने भएसँगै यी ३ क्षेत्रमा प्रवाह हुने कर्जामा सुस्तता आउन थालिसकेको छ । तर यसबाट बैंकिङ प्रणालीमा तरलता भने थप सहज हुने विश्लेषणहरु भइरहेका छन् ।

तरलता सहज भएपछि बैंकको ब्याजदर घट्छ । यसको प्रत्यक्ष र सकारात्मक प्रभाव सेयर बजारमा देखिन्छ । बैंक ब्याजदर र सेयर बजारबीच जहिले पनि विपरीत सम्बन्ध हुने गर्छ । सामान्यतयः ब्याजदर बढ्दा सेयर बजार घट्ने अनि ब्याजदर घट्दा सेयर बढ्ने गर्छ । अहिले सेयर बजारमा तेजी आउनुमा पनि यसैलाई प्रमुख कारण मानिएको छ । कम ब्याज पाइन थालेपछि सर्वसाधारणहरु बैंक निक्षेपतिर भन्दा सेयर बजारमा आकर्षित हुने गर्छन् ।

अहिले एकातिर घर तथा हायर पर्चेज कर्जामा कडाई गरिएको छ भने अर्कोतिर सेयर धितो कर्जामा ६५% सम्म ऋण लिन पाइने व्यवस्था छ । यसबाट आगामी दिनमा बैंक तथा वित्तीय संस्थाहरुले सेयर कर्जालाई थप प्राथमिकता दिने अनुमान भइरहेको छ ।

तथापि, मंसिरमा सूचीकृत २६ वाणिज्य बैंकको बेस रेटसामान्य मात्र घटेको देखिएको छ । तर तरलता सहज हुँदै गएकाले पुस तथा माघमा भने यो थप तल झर्ने अनुमान हुँदैछ । किन भने अधिक तरलता भएपछि बैंकहरुले निक्षेपमा ब्याजदर घटाइदिन्छन् । जसका कारण निक्षेपका लागत कम पर्ने भएकाले बेस रेट पनि झर्न थाल्छ । 
 
#कृषि विकास, सभिल, हिमालयन, नेपाल बंगलादेश बैंकको कात्तिक मसान्तसम्मको आधारदर
#नेपाल, प्रभु, सिद्धार्थ बैंक असोज मसान्तसम्मको आधारदर

Post Your Comment