Market Closed

कम्पनीहरुले सार्वजनिक गर्ने लाभांशका सूचना बुझ्नै सकिंदैन

07 Nov,2019
  • clarity_11_7_2019_8_14_57.jpg
इशारा कोइराला
 
काठमाडौं : नेप्सेमा सूचीकृत कतिपय कम्पनीहरुले जारी गर्ने सार्वजनिक महत्वका सूचना तथा पत्राचारमा व्यापक मात्रामा भाषागत त्रुटी र लेखनमा दुविधा हुँदा आम लगानीकर्ता मारमा पर्ने गरेका छन् । कम्पनीहरुले जारी गर्ने यस्ता सार्वजनिक महत्वका पत्राचारमा भाषागत त्रुटीसँगै दुविधायुक्त व्यहोराले लगानीकर्ताले हैरानी खेप्नु परेको हो । पछिल्लो समय सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गर्ने लहर चलेको छ ।

यसैबीचमा लाभांश घोषणाको जानकारी दिन नेप्सेमार्फत सार्वजनिक गरिएको कतिपय कम्पनीको सूचना पढ्दा लगानीकर्ताले स्पष्ट रुपमा नबुझिने, दोहोरो अर्थ लाग्ने, वाक्य निकै लामा र जटिल शब्द प्रयोग हुने गरेको लगायतका टिकाटिप्पणी हुँदै आएको छ । यसको असन्तुष्टि लगानीकर्ता तथा जानकारहरुले सामाजिक सञ्जालमार्फत बेलाबखत पोख्दै पनि आएका छन् ।

कम्पनीहरुले सार्वजनिक महत्व र चासोको विषयलाई स्पष्ट रुपमा प्रस्तुत गर्नु पर्ने व्यवस्था रहेको छ । तर पनि कतिपय सूचीकृत कम्पनीहरुको सूचना तथा पत्र हेर्दा झारा टार्न वा प्रक्रिया पूरा गर्नका लागि मात्रै सम्प्रेषण गरेको जस्तो देखिन्छ । सेयर बजारका विषयमा चासो राख्ने अधिवक्ता ज्योति दाहाल कम्पनीहरुले पत्र लेख्दा भाषामा संवेदनशील नबनेकाले यस्तो समस्या आएको बताउछन् ।

उनले भने, ‘सार्वजनिक कम्पनीहरुले सूचना जारी गर्दा भाषामा संवेदनशील हुन आवश्यक छ ।’ एकै वाक्यमा शब्दको थुप्रो लगाउन खोज्दा समस्या आएको छ । यसैगरी, सरल वाक्यमा लेख्नुपर्ने विवरणलाई मिश्र वाक्यको उपयोग र अनावश्यक अलंकार र उपमा थप्दा वाक्य नै कुरूप भएको र अर्थ के हो भनेर अलमल पर्ने अवस्था छ । यसले गर्दा कतिपय अवस्थामा दोहोरो अर्थ समेत लाग्ने गरेको उनको तर्क छ ।
 
एउटा उदाहरणको रुपमा गरिमा विकास बैंकले हालै घोषणा गरेको लाभांशका बारेमा लेखिएको चिठीको व्यहोरालाई लिन सकिन्छ । गरिमाले उक्त चिठीमा १६७ शब्दलाई २ वटा वाक्य मात्रै छुट्याएको छ । यो चिठीको व्यहोरा आम लगानीकर्तालाई पढ्न र बुझ्न उत्तिकै हैरानी पार्ने खालको छ । उक्त पत्रमा भाषागत क्रुटी पनि प्रचुर मात्रमा देखिएको छ । यता, गुराँस लाइफ इन्सुरेन्स, नयाँ नेपाल लघुवित्त, गुराँस लघुवित्त लगायतका कम्पनीहरुले पछिल्लो समय जारी गरेका सूचनामा पनि भाषगत त्रुटी व्यापक रुपमा हावी भएको देखिन्छ । गुराँस लाइफले लाभांश पारित नै भएको छनक दिने गरी पत्राचार गरेको छ ।

पब्लिक कम्पनीका लागि सर्वोच्च स्थान मानिने साधारण सभाले मात्र लाभांश पारित गर्छ । तर, गुराँसको चिठीमा सञ्चालक समितिले पारित गरेको भन्ने व्यहोरा उल्लेख छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश वितरण सम्बन्धी निर्णय साधारण सभाले मात्र पारित गर्न वा नगर्न पनि सक्छ । त्यसअघि नियामकको पनि अनुमति आवश्यक हुन्छ । कतिपय कम्पनीले साधारणसभा प्रयोजनका लागि बुक क्लोज नभनी ‘बोनस सेयरको लागि बुक क्लोज’ भन्न पनि पछि नपरेका उदाहरण छन् । बोनस वा नगद लाभांश सभाको एउटा प्रस्ताव मात्र हो ।

सूचीकृत कम्पनीको पत्र पढ्दा मिठास आउनुको सट्टा लगानीकर्तालाई अलमलमा पार्ने किसिमको रहेको दाहालको तर्क छ । उनले भने, ‘सूचीकृत कम्पनीका यस्ता अनावश्यक शब्दका थुप्रो लागेका पत्र पढ्दा वाक्यको मिठासको त कुरै छाडौं कहिलेकही त आम लगानीकर्तालाई पत्रको व्यहोरा बुझ्नसमेत हम्मेहम्मे पर्छ । शब्दका अनावश्यक थुप्रोले वाक्य गठन, पदसंगति जस्ता भाषागत त्रुटीको कुरो गरेर साध्य छैन ।’
 
यी माथिका केही उदाहरणमात्रै हुन् । अधिकांश कम्पनीहरुले जारी गर्ने सूचनामा भाषागत शुद्धता, सरलतामा पटक्कै ख्याल गरेको देखिन्न । चलिहाल्छ नि भन्ने पाराको वा झारा टार्ने किसिमको मात्र देखिएको छ । तथापि, यो नयाँ घटना भने होइन । कम्पनीहरुको भाषागत शुद्धता माथि विगत लामो समयदेखि प्रश्न उठ्दै आएको छ ।

पुँजी बजारको फ्रन्टलाइन नियामक नेप्सेले पनि भाषागत शुद्धता र ढाँचाका सम्बन्धमा कम्पनीहरुलाई विगत लामो समयदेखि सचेत गराउदै आएको छ । सूचीकृत कम्पनीले उचित स्पष्ट र सरल भाषमा पत्राचार नगरेपछि नेप्सेले विषय नै खुलाएर पत्राचार गर्न भनेर ढाँचा नै बनाइदिएको छ । तर पनि अझै त्यस अनुसार काम हुन सकेको छैन । 
 
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले लाभांश घोषणा सम्बन्धी पत्रको ढाँचाका सम्बन्धमा कम्पनीहरुलाई बारम्बार सचेत गराउदै आएको नेपाली पैसालाई बताए । उनले भने, ‘नेप्सेले सूचीकृत कम्पनीहरुलाई लाभांश घोषणा गर्दा ढाँचामा ख्याल गर्न विगत लामो समयदेखि बारम्बार सचेत गराइएको छ ।’ यति हुँदाहुँदै पनि केही कम्पनीहरुले अझै पनि सार्वजनिक सूचना जारी गर्दा सचेत भएका छैनन् ।’
 
के कारणले भाषागत शुद्धतामा ह्रास, समाधनको उपाय के ?
 
सेयर बजारका विषयमा चासो राख्ने अधिवक्ता दाहाल पत्राचारको लागि खासमा कुनै ढाँचा नहुने बताउँछन् । तर, पत्रमा भन्न खोजिएको कुरालाई पाठ वा तालिका जुन रुपमा लेख्दा सहज र सरल हुन्छ त्यही अनुसार लेख्न उनी सुझाव दिन्छन् । उनले भने, ‘यसमा पत्र लेख्ने व्यक्तिमा शब्द सम्बन्धी ज्ञान र त्यसले दिने अर्थ थाहा हुनुपर्छ । लेखनमा अलिकति सिर्जनशीलता पनि पनि हुनुपर्छ । विषयगत ज्ञान त झन् हुनैपर्छ ।’ विषयगत ज्ञान, शब्दको अर्थ, सरलता र सिर्जनशीलता यति भएपछि पत्र लेख्न कुनै कठिनाई नहुने उनको तर्क छ ।

कम्पनीहरुको पत्रलाई शुद्ध र सरल बनाउन पत्र लेख्ने कर्मचारीलाई तालिम उपलब्ध गराउन पनि आवश्यक हुन सक्छ । यदि, कर्मचारीहरुले शुद्धतामा ध्यान नदिने हो भने भाषा विशेष गरी नेपाली, संस्कृत वा आमञ्चार लगायतका विषय अध्ययन गरेका व्यक्तिहरु राख्न आवश्यक रहेको समेत जानकारहरु बताउछन् । साथै, पत्र लेख्ने व्यक्तिमा आमसञ्चार लगायतको पनि ज्ञान हुन आवश्यक छ । 


 
 

Post Your Comment