Market Closed

शिव श्रीको आइपीओ बल्ल भयो बाँडफाट

10 Dec,2019
  • ipo_12_10_2019_1_12_11.jpg
नेपाली पैसा 
 
काठमाडौं : शिव श्री हाइड्रोपावरको आइपीओ मंगलबार बाँडफाँट गरिएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार मंगलबार (मंसिर २४ गते) बिहान १० बजे आइपीओ बाँडफाँट गरिएको हो । रीतपूर्वक आवेदन दिएका सबैले मागेजति सेयर पाएका छन् । यसको आइपीओ सबै बिक्री भएको थिएन । बिक्री नभएको आइपीओको प्रत्याभूति लिन प्रत्याभूतिकर्ता (अन्डरराइटर) ले आनाकानी गरेपछि विवाद बढ्दा बाँडफाँटमा विलम्ब भएको हो । 
 
विवाद हुँदै गर्दा पनि धितोपत्र बोर्डको निर्देशन अनुसार बाँडफाँट भएको हो । शिव श्रीले गत असोज १६ गतेबाट ३३ करोड ५१ लाख १४ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको ११ लाख ३६ हजार ५४० कित्ता र सर्वसाधारणलाई छुट्याइएको २२ लाख १४ हजार ६ सय कित्ता गरी कुल ३३ लाख ५१ हजार १४० कित्ता आइपीओ बिक्री खुला गरेको थियो । 
 
शिव श्री हाइड्रोपावरको कुल लागत ४ अर्ब ९८ करोड ५९ लाख ९६ हजार ५१४ रुपैयाँ रहेको छ । यसको प्रतिमेगावाट लागत २२ करोड ४५ लाख ९४ हजार ४३७.५७ रुपैयाँ हुन आउँछ । लगानी फिर्ता हुने अवधि ९.५९ वर्ष रहेको छ र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि २१.९५ वर्षको हुनेछ ।

क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो आइपीओलाई औसत भन्दा तल जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ । शिव श्रीले सिन्धुपाल्चोक जिल्लामा २२.२ मेगावटको उपर चाकु “ए” जालविद्युत आयोजना निर्माण गरिरहेको छ । यसको केन्द्रीय कार्यालय बुद्धनगर, काठमाडौंमा रहेको छ ।
 
 
 

Post Your Comment