Market Closed

मार्जिन लेन्डिङमा व्यवहारिक समस्या, नेप्सेले फेरि सुरु गर्यो अध्ययन

08 Jan,2020
  • margin2_1_8_2020_6_08_34.jpg
नेपाली पैसा 
 
काठमाडौं : ब्रोकरमार्फत सुरु गरिएको मार्जिन लेन्डिङमा आम लगानीकर्ताले चासो नदेखाएपछि यसमा उत्पन्न व्यवहारिक समस्या समाधान गर्न पहल सुरु भएको छ । ब्रोकरमार्फत मार्जिन लेन्डिङ सुविधा लिएर सेयर कारोबार गर्नु भन्दा बैंक तथा वित्तीय संस्थाबाट सेयर धितो कर्जा लिनतर्फ लगानीकर्ता उत्साहित देखिएका छन् । जसका कारण मार्जिन लेन्डिङ प्रक्रियाले गति लिनै सकेको छैन ।

बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने भन्दा निकै कम मात्रामा ब्रोकरमार्फत मार्जिन पाइनु, लगानीकर्ताले आफूले चाहेका कम्पनीको खरिद गर्न नपाउनु, चर्को ब्याजदर लगायतका कारण यतिबेला सर्वसाधारण लगानीकर्ता ब्रोकर कार्यालयमा गएर मार्जिन ऋण लिन तयार नभएका हुन् । यही बेला अधिक तरलताका कारण बैंक तथा वित्तीय संस्थाहरुले भने ग्राहकलाई बोलाइ–बोलाइ सेयर कर्जा दिन थालेका छन् । 
 
विगतमा ब्रोकरमार्फत मार्जिन लेन्डिङ सुरु गर्न लगानीकर्ताले नेप्से तथा धितोपत्र बोर्डमा ठूलै दबाब दिएका थिए । तर, अहिले यो सुरु भएको ३ महिना बितिसक्दा पनि लगानीकर्ताले खासै चासो देखाएका छैनन् । सेवा सुरु भएको लामो समय व्यतीत भइसक्दा पनि लगानीकर्ताको आकर्षण नदेखिएपछि नेप्सेले यसको कार्यविधिमै संशोधन गर्नुपर्ने आवश्यकता महशुस गरेको हो । सोही अनुसार नेप्सेले यससम्बन्धी प्रक्रियासमेत अघि बढाइसकेको छ ।

नेप्सेले सुपरीवेक्षण विभागका कामु सहायक प्रबन्धक सुरेश जोशीको संयोजकत्वमा ५ सदस्यीय अध्ययन समिति गठन गरेको छ । यो समितिले मार्जिन कारोबारमा देखिएको समस्या पत्ता लगाएर सुझाव दिनेछ । यसका लागि समितिले ब्रोकरहरुसँग पनि छलफल गरेको छ । ब्रोकरहरुले पनि अहिलेको मार्जिन कारोबार सम्बन्धी कार्यविधिमा भएका कतिपय अव्यवहारिक प्रावधानका कारण आम लगानीकर्ता आकर्षित हुन नसकेको बताएका छन् ।  
 
मार्जिन ऋणका लागि विद्यमान कार्यविधि अनुसार लगानीकर्ताले कुनै पनि कम्पनीको सेयरको १८० दिनको औसत बजार मूल्य वा पछिल्लो बजार भाउ मध्ये जुन कम हुन्छ, त्यसको ५०% रकम मात्र कर्जा पाउन सक्ने प्रावधान छ । बाँकी ५०% रकम लगानीकर्ता आफैंले जोहो गर्नुपर्ने हुन्छ । अर्थात् सामान्य हिसाबले भन्दा कुनै पनि कम्पनीको सेयर खरिद गर्न करिब ५०% रकम मात्र ब्रोकरबाट पाइन्छ । थप ५०% लगानीकर्ताले जुटाउनुपर्छ । 
 
तर बैंक तथा वित्तीय संस्थाले १८० दिनको औसत सेयर मूल्यको ६५% सम्म सेयर धितो कर्जा दिने गरेका छन् । वित्तीय संस्थाले कर्जा दिने सूचीकृत कम्पनीहरुको सूची पनि निकै धेरै छ । ब्याजदर पनि तुलनात्मक रुपमा सस्तो पर्छ । यसमा १ वर्षसम्मका लागि कर्जा पाइन्छ । त्यसपछि फेरि आवश्यकता अनुसार नवीकरण गर्न सकिन्छ । तर मार्जिन लेन्डिङको अवधि निकै छोटो छ । ब्याजदर पनि महँगो छ । अनि, यस अन्तर्गत कर्जा दिन पाइने कम्पनीहरु निकै कम मात्र छन् । 
 
यसबाहेक मार्जिन कारोबारका लगानीकर्ताले लिएको कुल ऋणको जम्मा १०% मात्र एउटा कम्पनीमा लगानी गर्न पाइने प्रावधान छ । यो प्रावधान पनि निकै अव्यवहारिक देखिएको छ । बैंक तथा वित्तीय संस्थामा सेयर धितो राखेर कर्जा लिंदा यस्ता कुनै पनि शर्त राखिएका हुँदैनन् । लगानीकर्तालाई मार्जिन लेन्डिङमा विकर्षण ल्याउने यो अर्को महत्वपूर्ण कारक रहेको ब्रोकरहरुको भनाई छ । 
 
यस्तै, मार्जिन लेन्डिङ योग्य हुनका लागि कुनै पनि कम्पनीले नयाँ आर्थिक वर्ष सुरु भएको प्रथम ६ महिनाभित्र वार्षिक साधारणसभा सम्पन्न गरेको हुनुपर्ने लगायतको व्यवस्था छ । तर, बिमांकीय मूल्यांकनमा विलम्ब हुँदा अधिकांश बिमा कम्पनीहरुले ६ महिनाभित्र साधारण सभा गर्न सकेका छैनन् । यसले पनि लगानीकर्तालाई मार्जिन लेन्डिङ सुविधा पाउनबाट वञ्चित गरेको छ । यसर्थ, यी समस्याहरु समाधान गर्न सकेमात्र आगामी दिनमा ब्रोकरमार्फत प्रवाह हुने मार्जिन लेन्डिङले गति लिन सक्ने देखिन्छ । 
 
३३ कम्पनी मार्जिन कारोबारका लागि योग्य, यस्ता छन् प्रावधान
 
चालु आर्थिक वर्ष २०७६–०७७ को पहिलो त्रैमाससम्ममा ३३ कम्पनीहरु मार्जिन कारोबारका लागि योग्य रहेका छन् । नेप्सेको वर्तमान कार्यविधि अनुसार मार्जिन कारोबार गर्न कम्तिमा १० हजार सेयरधनी भएको, कम्पनीको खुद सम्पत्ति चुक्ता पुँजी भन्दा कम नरहेको, पछिल्लो २ आर्थिक वर्षमा कम्तिमा १०% लाभांश वितरण गरेको, दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तिमा ८०% कारोबार दिनमा सेयर खरिदबिक्री भएको हुनुपर्छ ।
 
त्यस्तै, आर्थिक वर्षको प्रथम ६ महिना भित्रै वार्षिक साधारणसभा सम्पन्न गरेको कम्पनी मार्जिन कारोबार सुविधा पाउन योग्य रहन्छन् । यी दायरामा रहेका १२ वाणिज्य बैंक, ७ विकास बैंक, ९ लघुवित्त कम्पनी, ३ जलविद्युत् कम्पनी, एक होटल र एक अन्य समूहका कम्पनी रहेका छन् । तर अब दोस्रो त्रैमासमा यी कम्पनीहरुको संख्या बढ्ने अपेक्षा गरिएको छ । 
 
अहिलेको कार्यविधि अनुसार मार्जिन सुविधा लिन के गर्नुपर्छ ?
 
मार्जिन कारोबार सम्बन्धी सुविधा प्रयोग गर्नका लागि लगानीकर्ताले ब्रोकर कार्यालयमा गएर निवेदन दिनुपर्ने व्यवस्था छ । लगानीकर्ताको निवेदन र नेपाल धितोपत्र बोर्डले तोके अनुसार ग्राहक परिचयपत्र लिनुपर्छ । कारोबार अनुमति परिचय प्राप्त गरिसकेपछि ब्रोकर कम्पनी र लगानीकर्ताले आपसी सहमतिमा ब्याजदर निर्धारण सम्झौता गर्नुपर्छ ।

यसलाई बोर्डले खुल्ला छाडिदिएको छ । मार्जिन कारोबार कार्यान्वयनमा आएपछि लगानीकर्ताले किन्ने सेयरमा ५०% भन्दा बढी रकम ब्रोकर कम्पनीहरुले सापटीका रुपमा प्रदान गर्नेछन् । 

Post Your Comment