Market Closed

नेप्से करेक्सन हुँदा पनि १ अर्बको कारोबार भएपछि लगानीकर्ता उत्साहित

14 Jan,2020
  • bull-versus-bear-_1_14_2020_3_20_15.jpg
नेपाली पैसा 
 
काठमाडौं : केही दिनदेखि चुलिएको सेयर बजारमा मंगलबार सामान्य करेक्सन आएको छ । पुस महिनाको अन्तिम दिन बजारले थोरै करेक्सन खोजेको हो । छोटो समयमा प्राप्त भएको नाफा बुक गर्न अल्पकालीन कारोबारीहरु आतुर भएपछि बजार थोरै तल झरेको विश्लेषकहरु बताउँछन् । तर निरन्तर जारी उत्साहप्रद खरिदबिक्री रकमले सेयर बजारको सकारात्मक भविष्यको सकेत गरिरहेको छ ।

बजार घटेका बेला पनि खरिदबिक्री रकम निकै राम्रो छ । यद्दपि, अघिल्लो दिनको तुलनामा घटे पनि मंगलबार १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुनुलाई उत्साहप्रदरुपमा लिन सकिन्छ । केन्द्रीय बैंकका अनुसार यतिबेला बैंक तथा वित्तीय संस्थासँग ५० अर्ब रुपैयाँ लगानी योग्य पुँजी छ । विस्तारै तरलता अनुपात अझै बढ्दै जाने अपेक्षा छ । तरलता सहज भएसँगै बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउने छन् । ब्याज घटेपछि सेयरमा लगानी गर्नेहरु थप बढ्छन् ।

निक्षेपमा ब्याज घट्न थालेपछि निक्षेपकर्ता पनि बैंकबाट पैसा झिकेर सेयर बजारतर्फ नै आकर्षित हुने गर्छन् । यतिबेला केन्द्रीय बैंकले गाडी लगायतमा जाने व्यक्तिगत कर्जा प्रवाहमा कडाई गरेको छ । जसका कारण बैंक तथा वित्तीय संस्थाहरुले सेयर कर्जा प्रवाह गर्ने क्रम बढाएका छन् । यता, सेयर धितो ६५% सम्म कर्जा पाइने भएकाले पनि लगानीकर्तालाई थप सजिलो हुन्छ । यसले पनि दीर्घकालमा सेयर बजारलाई माथि लैजान सहयोग पुर्याउने अपेक्षा छ । 
 
अब माघ लागेसँगै सूचीकृत कम्पनीहरुको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक हुन थाल्नेछ । अधिकांशले नाफा बढाएका अनुमानहरु भइरहेका छन् । नाफा बढ्दा लाभांश अनुपात पनि वृद्धि हुने भएकाले आम लगानीकर्ता थप उत्साहित हुनेछन् । यता, सेयर बजार झन्डै ४२ महिनासम्म घट्दो क्रममा रहेकाले पनि अब विस्तारै माथितिरै लाग्ने बेला भएको विश्लेषकहरुको बुझाई छ ।

सरकारले सेयर बजार सुधारका कामहरु गरिरहेको छ । बजार क्रमशः प्रविधिमैत्री बन्दैछ । यी तमाम परिदृश्यहरुका कारण सेयर बजारको दीगो सुधार अपेक्षा गर्न सकिन्छ । तथापि, लगानीकर्ताले योजनाबद्ध र रणनीतिक हिसाबले काम गर्नुपर्छ । कम्पनीहरुको वित्तीय अवस्था, लाभांश क्षमता, भविष्यमा व्यापार विस्तारको सम्भावना लगायत पक्षलाई ख्याल गरेर लगानी गर्न अनुभवीहरुले सुझाव दिने गरेका छन् । 
 
नेप्से सूचक ७.४८ अंकले घटेर १२६३.३८ विन्दुमा अडिएको छ । १८३ कम्पनीको १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कुल ३७ लाख ६६ हजार ९८२ कित्ता सेयर खरिदबिक्री भएको हो । १२ मध्ये ५ समूहको सूचक बढेको छ । सबैभन्दा धेरै ट्रेडिङ समूह ६५.०७ अंकले माथि लागेको छ । वाणिज्य बैंक समूहको सूचक भने १०.३६ अंकले घटेको हो । जीवन तथा निर्जीवन बिमा कम्पनी र माइक्रोफाइनान्स समूह पनि केही घटेका छन् । 
 
खरिदबिक्री रकममा प्रभु बैंकको संस्थापक सेयरको अग्रस्थान छ । यसको ११ करोड ४३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो । खरिदबिक्रीमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नागरिक लगानी कोष र एनआइसी एसिया बैंक परेका छन् । रैराङ हाइड्रोपावर र साल्ट ट्रेडिङ लिमिटेडको सेयर भाउ १०% ले बढेपछि सर्किट ब्रेकर लगाएर रोकिएको छ । यता, सबैभन्दा धेरै दिव्यश्वरी हाइड्रोपावरको भाउ ८.६२% ले तल झरेको छ । 
 
 
 
 
 
 
 
 

Post Your Comment