Market Closed

विकास बैंकहरुको यस्तो छ कमाई, हेर्नुहोस् कुन सबैभन्दा अब्बल ?

09 Feb,2020
  • profit_img_2_9_2020_7_41_00.jpg
नेपाली पैसा 
 
काठमाडौं : हालसम्म नेप्सेमा सूचीकृत ९ विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । विवरण सार्वजनिक गर्ने ९ विकास बैंक मध्ये ४ राष्ट्रिय स्तरका र बाँकी ५ वटा निश्चित जिल्ला तथा क्षेत्रलाई कार्यस्थल भएका (जिल्ला स्तरका) रहेका छन् । वित्तीय विवरण आएका विकास बैंकहरुको चुक्ता पुँजी, रिजर्भ कोष, खुद ब्याज आम्दानी, खुद नाफा र प्रतिसेयर आम्दानीको तुलनात्मक अध्ययन गरिएको छ । सार्वजनिक वित्तीय विवरण अनुसार अधिकांश विकास बैंकको नाफासँगै प्रतिसेयर आम्दानीमा सुधार आएको छ । हेरौं, कुनको अवस्था कस्तो छ ः 
 
७ विकास बैंकको चुक्ता पुँजी बढ्यो
 
दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने ९ बैंक मध्ये ७ विकास बैंकको चुक्ता पुँजी बढेको छ भने २ को पुँजी गत वर्षकै यथावत रहेको छ । गत वर्षकै पुँजी यथावत हुनेमा एक्सेल र ग्रीन डेभलपमेन्ट बैंक रहेका छन् । यता, सबैभन्दा धेरै पुँजी बढाउनेमा भने शाइन रेसुंगा डेभलपमेन्ट बैंक रहेको छ । यसको पुँजी ६१.६४% ले बढेर २ अर्ब ६२ करोड २९ लाख ४ हजार रुपैयाँ पुगेको छ ।



विवरण आएकामध्ये अहिलेसम्म सबैभन्दा धेरै चुक्ता पुँजी भने मुक्तिनाथ विकास बैंकको ४ अर्ब ३२ करोड ४९ लाख ८९ हजार रुपैयाँ रहेको छ । मर्ज तथा एक्विजिसन अनि बोनस र हकप्रदका माध्यमबाट पुँजी वृद्धि भएको हो । 
 
५ विकास बैंकको जगेडा कोष घट्यो
 
पुस मसान्तसम्म आइपुग्दा ५ विकास बैंकको जगेडा कोष घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणमा एनएफआरएस प्रणाली अनुसार रिटेन्ड अर्निङ र रिजर्भ कोष बेग्लाबेग्लै शीर्षकमा राखिएकाले धेरैको रिजर्भ घटेको देखिएको हो । तथापि, दुवैलाई जोड्दा रिजर्भमा पनि सुधार भएको पाउन सकिन्छ ।



अघिल्लो वर्षको दोस्रो त्रैमासमा भने पुरानो ढाँचाको वित्तीय विवरणमा भने ‘रिजभ एन्ड सरपल्स’ एउटै शीर्षकमा समावेश गरिन्थ्यो । यसर्थ, तुलनात्मक अध्ययन गर्दा यस पक्षमा पनि ध्यान दिनुपर्ने हुन्छ । यता, सप्तकोशी डेभलपमेन्ट बैंकको जगेडा कोष सबैभन्दा धेरै १०८.१५% ले बढेर ९ करोड ९६ लाख २५ हजार रुपैयाँ पुगेको छ । 
 
९ वटैको खुद ब्याज आम्दानी बढ्यो
 
पुस मसान्तसम्म वित्तीय विवरण प्रकाशन गर्ने ९ वटै विकास बैंकको खुद ब्याज आम्दानी बढेको छ । यसअवधिमा सबैभन्दा धेरै खुद ब्याज आम्दानी बढाउनेमा सप्तकोशी डेभलपमेन्ट बैंक रहेको छ । यसको खुद ब्याज आम्दानी ८६.४१% ले बढेर ११ करोड ८ लाख ९५ हजार रुपैयाँ पुगेको छ ।



यता, मुक्तिनाथ विकास बैंकको खुद ब्याज आम्दानी सबैभन्दा धेरै १ अर्ब ९ करोड ८७ लाख ४९ हजार रुपैयाँ रहेको छ । 
 
८ को खुद नाफा बढ्यो
 
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा वित्तीय विवरण सार्वजनिक गर्ने ९ विकास बैंक मध्ये ८ वटाको खुद नाफा बढेको छ । खुद नाफा घट्नेमा ग्रीन डेभलपमेन्ट बैंक रहेको छ ।



यसको नाफा ३.७६% ले घटेको छ । यसअवधिमा सबैभन्दा धेरै नाफा बढाउनेमा भने सप्तकोशी डेभलपमेन्ट बैंक रहेको छ । यसको नाफा १०१.७१% ले बढेर ३ करोड ४ लाख ७ हजार रुपैयाँ पुगेको छ । 
 
७ को प्रतिसेयर आम्दानी बढ्यो
 
पुस मसान्तसम्मको वित्तीय विवरण प्रकाशन गर्नेमध्ये ७ विकास बैंकको प्रतिसेयर आम्दानी बढेको छ भने २ को घटेको छ । प्रतिसेयर आम्दानी घट्नेमा शाइन रेसुंगा र मुक्तिनाथ विकास बैंक रहेका छन् । यसअवधिमा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी एक्सेल डेभलपमेन्टको रहेको छ ।



यसको प्रतिसेयर आम्दानी (वार्षिक) २९ रुपैयाँ ७१ पैसा छ । यता, सबैभन्दा धेरै प्रतिसेयर आम्दानी बढाउनेमा भने मितेरी डेभलपमेन्ट बैंक रहेको छ । मितेरीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ०३ पैसाले बढेर २८ रुपैयाँ ५५ पैसा पुगेको छ । 
 

Post Your Comment