Market Closed

एक अर्ब ७७ करोडको सेयर कारोबार, बजारमा चहलपहल झन् तीब्र

13 Feb,2020
  • bull_2_2_13_2020_3_20_20.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेयर कारोबारले नयाँ उचाई लिदैं गएको छ । दिनहुँ खरिदबिक्री रकम बढ्ने क्रममा देखिएको छ । बुधबार १ अर्ब ५० करोड रुपैयाँ हाराहारीमा सेयर कारोबार भएकामा बिहीबार खरिदबिक्री रकम अझै वृद्धि भएको छ । सूचक सामान्य रहँदा पनि खरिदबिक्रीमा तेजी आइरहेकाले दीर्घकालीन लगानीकर्ताको बजारमा प्रवेश भएको अनुमान गरिएको छ ।

लगातार कारोबार वृद्धिले बजारको बुल रन संकेत गर्ने विश्लेषकहरु बताउँछन् । ठूलो मात्रामा खरिदबिक्री भएकाले अहिले नेप्से सूचक सुस्त भए पनि यसले भविष्यमा बजार वृद्धिको स्पष्ट संकेत गर्दछ । यसअघि दैनिक २ अर्बभन्दा बढीको कारोबार भएकामा बीचमा केही दिन खरिदबिक्री अलि सुस्त भएर औसतमा १ अर्ब हाराहारीमा आएको थियो । त्यसयता पुनः वृद्धि हुँदै अहिले फेरि डेढ अर्ब माथि पुगेको छ । 
 
सेयर बजार जहिले पनि बाँङोटिंगो रेखामा हिँड्छ । लगातार बढ्ने वा घट्ने मात्र अपेक्षा गर्न सकिन्न् । तर समग्र ट्रेन्ड कता जाँदैछ भन्ने सबैभन्दा महत्वपूर्ण हुन्छ । हरेक हिसाबले विश्लेषण गर्दा बजारले माथिल्लो यात्रा तय गर्ने सुरसार गरिरहेको विश्लेषकहरु बताउँछन् । तर यसरी माथि जाँदा घट्दैबढ्दै अघि बढ्ने गर्छ । केही बढेर फेरि घट्ने अनि पुनः माथितिर लाग्ने बजारको प्रवृत्ति हुन सक्छ ।

यसतर्फ आम लगानीकर्ताले सुक्ष्म अध्ययन गर्न आवश्यक छ । आफैंले अध्ययन गरेर लगानी सम्बन्धी निर्णय लिनुपर्ने हुन्छ । यतिबेला नयाँ तथा पुराना दुवैथरीका लगानीकर्ता उत्साहित छन् । उनीहरुले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन हिसाबले सञ्चय गर्ने हिसाबले समेत सेयर खरिद गरिरहेको फ्रन्टलाइनमा बसेर काम गर्ने ब्रोकरहरु बताउँछन् । 
 
खरिदबिक्रीमा निरन्तर तेजी आउन थाल्नु नै बुल रनको संकेत भएको अनुभवी लगानीकर्ताहरु बताउँछन् । सेयर बजार सुधारका कार्यक्रम अघि बढिरहेका छन् । नयाँ नियमहरु ल्याएर बजारको दायरा फराकिलो बनाउने काम भइरहेको छ । नागरिक लगानी कोषले सहायक कम्पनीमार्फत स्टक डिलरको काम थाल्दैछ ।

अन्य सुधारका थुप्रै कामहरु अघि बढिरहेका छन् । सूचीकृत कम्पनीहरुको नाफा पनि बढ्दो छ । बैंक ब्याजदर घट्दो क्रममा छ । यी तमाम पक्षहरुले सेयर बजारको आगामी दिनहरु सुखद् हुने प्रक्षेपण गर्न सकिन्छ । आम लगानीकर्ताले कम्पनीहरुको तथ्यांक अध्ययन गर्न आवश्यक हुन्छ ।

नाफा, प्रतिसेयर आम्दानी, नेटवर्थ, व्यवसायको आकार, कम्पनीको भावी योनजा, सञ्चालक तथा व्यवस्थापन पक्ष लगायतमा पनि विचार गरेर अघि बढ्न जरुरी छ । नेप्से सूचक साताको अन्तिम दिन बिहीबार १.३९ अंकले घटेर १३४४.५९ विन्दुमा अडिएको छ । १७२ कम्पनीको १ अर्ब ७७ करोड रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्री भएको छ । ३७ लाख २० हजार ९२ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

कुल १२ समूहको कारोबार भएकामा ७ समूहका सूचक बढेका छन् भने बाँकी ५ समूह तल झरेका छन् । जीवन बिमा समूह सबैभन्दा धेरै १०२.७४ अंकले बढेको छ । यता, वाणिज्य बैंक समूह भने ८.९४ अंकले घटेको छ ।खरिदबिक्री रकममा हिमालयन डिष्टिलरी अग्रस्थानमा छ । यसको १२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यता, शिवम् सिमेन्ट्सको दोस्रो धेरै ९ करोड ७५ लाख रुपैयाँ र तेस्रोमा एसियन लाइफ इन्सुरेन्सको ६ करोड ५१ लाख रुपैयाँभन्दा बढीको खरिदबिक्री भएको छ । यस दिन हिमालयन डिष्टिलरीको १०% ले भाउ बढेपछि सर्किट लागेको छ । यता, नेपाल हाइड्रो डेभलपर्सको सबैभन्दा धेरै ५.१०% का दरले भाउ ओरालो लागेको छ ।



Post Your Comment