काठमाडौं : सेयर कारोबार ५ दिन बन्द हुने भएको छ । सोमबारदेखि ५ कारोबार दिन बजार बन्द हुने नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ । कोरोना भाइरसका कारण सबै आतंकित बनेका बेला बजार बन्द गर्नुपर्ने चौतर्फी आवाज उठेको थियो । लगानीकर्ताले पनि बजार बन्द गर्न व्यापक दबाब दिएका थिए ।
सोही अनुसार धितोपत्र बोर्डले विशेष अधिकार प्रयोग गरी ५ कार्य दिन बजार बन्द गर्न निर्देशन दिएको हो । यसअघि अर्थ मन्त्रालयले बोर्ड र नेप्से दुवैलाई बोलाएर समग्र अवस्थाका बारेमा जानकारी लिएको थियो । अर्थको निर्देशनपछि बोर्डले लिखित रुपमा ५ कार्य दिन बजार बन्द गर्न नेप्सेलाई निर्देशन दिएको हो ।
बोर्डको लिखित निर्देशनपछि नेप्सेले सोमबारबाट लागू हुने गरी ५ कार्य दिन बजार बन्द गर्नेछ । नेप्से र बोर्ड दुवैलाई काबु भन्दा बाहिरको अवस्थामा बजार बन्द गर्न सक्ने अधिकार भए पनि दुवैले अर्थ मन्त्रालयको मुख ताकेर बसेका थिए । अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई नियामकका हैसियतले बजार बन्द गर्नका लागि स्पष्ट निर्देशन दिन भनेपछि बोर्डले कारोबार रोक्ने निर्णय गरेको हो ।
