Market Closed

यतिबेला नेपाललाई विशेष सहयोगको आवश्यकता छ : अर्थमन्त्री

25 Mar,2020
  • saarc_3_25_2020_8_34_06.jpg
नेपाली पैसा
 
काठमाडौं : दक्षिण एसियाली राष्ट्रहरुका अर्थमन्त्री तथा अन्तर्राष्ट्रिय मुद्राकोष र विश्व बैंक लगायतका अन्तर्राष्ट्रिय  वित्तीय संस्थाका उच्चपदस्थ पदाधिकारीबीच बुधबार संयुक्त भिडियो कन्फरेन्स मार्फत छलफल भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले अर्थतन्त्रमा पारेको तथा पार्न सक्ने प्रभाव र यसको समाधानका उपायबारे भिडियो कन्फरेन्स मार्फत छलफल भएको हो । भिडियो कुराकानीमा नेपालका अर्थमन्त्री डा. युवराज खतिवडाले पर्यटन, निर्माण र रोजगारीको क्षेत्रमा यसले तत्काल असर पारेको जानकारी गराए । उनले स्वास्थ्य सेवा, सामाजिक सुरक्षा र अर्थतन्त्रलाई टेवा पुग्ने गरी सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको बताए ।
 
अर्थमन्त्री खतिवडाले राज्यको क्षमता साधनस्रोत पनि सीमित हुँदा क्षति पुगेका वास्तविक वर्ग तथा क्षेत्रलाई तत्काल ठूलो सहयोग उपलब्ध गराउने विषय चुनौतीपूर्ण रहेको उल्लेख गरे । साथै, उनले नेपालजस्ता कम क्षमता र स्रोतसाधन  भएका मुलुकहरुका लागि अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले विशेष सहयोग गर्नुपर्ने पनि बताए । भिडियो कन्फरेन्समा सहभागीहरुले कोरोना भाइरसको रोकथामका लागि स्वास्थ्य क्षेत्रमा आवश्यक उपकरण तथा सुरक्षाका सामग्रीहरुको व्यवस्था, रोजगारीमा परेको प्रभाव लगायतमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले गर्न सक्ने सहयोगबारे आफ्ना धारणा राखे ।
 
भिडियो कन्फरेन्समा अन्तर्राष्ट्रिय मुद्रा कोषका निर्देशक, विश्व बैंकका भाइस प्रेसिडेन्ट, अन्तर्राष्ट्रिय वित्त निगमका भाइस प्रेसिडेन्ट, बहुपक्षीय लगानी प्रत्याभूत संस्थाका भाइस प्रेसिडेन्ट, एसियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंक  लगायतका अन्तर्राष्ट्रिय वित्तीय संस्थाका पदाधिकारीको पनि सहभागिता थियो ।
 
नेपालको तर्फबाट छलफलमा अर्थ सचिव, राजस्व सचिव, नेपाल राष्ट्र बैंकका कामु गभर्नर, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिवतथा नेपालस्थित विश्व बैकका कन्ट्री म्यानेजरको समेत उपस्थिति थियो ।

Post Your Comment