Market Closed

शङ्खरापुर नगरपालिका छिर्ने सबै नाका सिल

22 May,2020
  • shankjhara_5_22_2020_8_16_28.jpg

 
 
काठमाडौं : शङ्खरापुर नगरपालिकामा बिहीबार २९० जनामा गरिएको आडीटीका क्रममा १२ जनामा कोरोना पोजेटिभ देखिएपछि आजदेखि नगर क्षेत्र छिर्ने सबै नाका सिल गरिने भएको छ । वडा नं ४ देखि ९ सम्मका जनप्रतिनिधि, अत्यावश्यक सेवामा खटिने कर्मचारी, स्थानीयवासीलगायत कोरोनाको लक्षण देखिएको हो  ।

आरडीटी परीक्षण गर्दा उनीहरुमा पोजेटिभ रिपोर्ट प्राप्त भएकाले नगर क्षेत्र सिल गर्न लागिएको नगर प्रमुख सुवर्ण श्रेष्ठले बताए । इन्द्रायणी स्वास्थ्य केन्द्र, पिपल्स लाइफ केयर, सुष्मा कोइराला मेमोरियल अस्पताल र घुमारचोक सहरी स्वास्थ्य केन्द्रमा बिहीबार २९० जनाको आरडीटी परीक्षण गरिएको थियो ।
 
आरडिटीमा पोजेटिभ देखिएकालाई नगरपालिका वडा नं ७ स्थित बाल क्षेत्र नेपालको क्वारेन्टाइनमा राखिएको छ । पिसिआर परीक्षणको प्रतिवेदन नआएसम्मका लागि सबैलाई यहीँ राखिनेछ । क्वारेन्टनमा राखिएकालाई आवश्यक सुविधा र खानपिनको व्यवस्था नगरपालिकाले नै गर्नेछ ।
 
आरडीटी परीक्षणमा पोजेटिभ देखिएकाको शुक्रबार बिहान स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइने नगरपालिकाले जनाएको छ । नगरपालिकाबाट काठमाडौं उपत्यका बाहिरिने नाकासहित अन्य नगरपालिकासँग जोडिएका नाका पनि शुक्रबार बिहान १० बजेदेखि सिल गरिने उनले बताए ।

अर्को सूचना जारी नभएसम्मका नगर क्षेत्र भित्रिने र बाहिरिने सबै नाका पूर्णरूपमा बन्द गरिनेछ । शङ्खरापुरबाट सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको फटकशिला र भोटेचौर छिर्ने नाका छ । यसैगरी, भक्तपुरको चाँगुनारायण नगरपालिका हुँदै काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका जाने नाका पनि छ ।

रासस

Post Your Comment