Market Closed

अन्ततः बढेरै बन्द भयो सेयर बजार

09 Jul,2020
  • bull-vs-bear_7_9_2020_3_23_22.jpg
नेपाली पैसा 
 
काठमाडौं : तलमाथि गर्दागर्दै सेयर बजार अन्ततः हरियै भएर बन्द भएको छ । अल्पकालीन कारोबारीले केही बिक्री चाप बढाउँदा बजार बीचबीचमा सामान्य अंकले घटेको थियो । तर बिक्रेताको अनुपातमा क्रेता पनि उत्तिकै आउँदा सूचक फेरि सकारात्मक बनेको फ्रन्टलाइनमा बसेर काम गर्र्ने ब्रोकरहरुको भनाई रहेको छ ।बजारमा पर्याप्त तरलता छ । साउन लागेपछि बैंक ब्याजदर अझै तल झर्ने विश्लेषणहरु भइरहेका छन् ।

तरलता सहज हुने अनि ब्याजदर थप सस्तो हुँदा त्यसको सकारात्मक प्रभाव सेयर बजारमा पर्ने देखिन्छ । यसैगरी, केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत थप सुधारका कार्यक्रम ल्याउने भनेको छ । यसले बजारलाई सकारात्मक गतिमा अघि बढाउन सहयोग पुग्ने विश्वास छ । तर यही बेला कम्पनीहरुको वित्तीय विवरण र लाभांश क्षमतालाई पनि ध्यान दिनुपर्ने हुन्छ । सँगै मूल्य आम्दानी अनुपात पनि ख्याल गर्नुपर्छ । यसबाहेक सेयर बजारमा लगानीकर्ताको मनोविज्ञानको पनि सर्वोपरि भूमिका रहने गर्छ । लगानीकर्तालाई सेयर बजार बढ्छ भन्ने विश्वास हुन जरुरी छ । 
 
नेप्से सूचक बिहीबार ४.५७ अंकले बढेर १३३१.१० विन्दुमा आइपुगेको छ । १७८ कम्पनीको ९० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल २२ लाख २६ हजार २०३ कित्ता सेयर खरिदबिक्री भएको छ । वाणिज्य बैंक र व्यापारिक समूहको बाहेक सबै समूहका सूचक वृद्धि भएको छ । सूचकका आधारमा सबैभन्दा धेरै जीवन बिमा समूह ६८.३३ विन्दुले माथि  लागेको छ । 


 
तीन कम्पनीको सेयर भाउ १०% बढेर सकारात्मक सर्किट लागेको छ । सूर्योदय लघुवित्त, एनआइसी एसिया लघुवित्त र वोमी लघुवित्तको भाउ १०% ले बढेको छ । खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा छ । यसको १५ करोड १८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो । 
 
 
 

Post Your Comment