Market Closed

धितोपत्र बोर्डले मर्चेन्ट बैंकरको लागि ल्यायो यस्तो नयाँ प्रावधान

11 Sep,2020
  • sebon_9_9_2020_6_41_05_9_11_2020_8_38_13.jpg
नेपाली पैसा

काठमाडौं : नेपाल धितोपत्र  बोर्डले संस्थागत परामर्श सेवा दिने अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकरहरुलाई नयाँ निर्देशन जारी गरेको छ ।  बोर्डले मर्चेन्ट बैंकरहरुको कार्य थप व्यवस्थित एवं प्रभावकारी रुपमा संचालनका लागि नयाँ निर्देशन ल्याएको हो । निर्देशनमा मर्चेन्ट बैंकरले दिने परामर्शका लागि संस्थामा योग्य व्यक्ति हुनुपर्ने, आवश्यक योग्य जनशक्ति र त्यही अनुसारको भौतिक पूर्वाधार बनाउनुपर्नेछ । 

मर्चेन्ट बैंकर्सको प्रशासनिक विनियमावली, कर्पोरेट एडभाइजरी पोलिसी, कर्मचारी आचारसंहिता लगायत नीतिगत काम गर्नुपर्ने निर्देशनमा छ । बोर्डले अनुमतिपत्र प्राप्त सबै संस्थागत परामर्श सेवा प्रदान गर्ने मर्चेन्ट बैंकरहरुले तोकिएको संरचना ६ महिना भित्र तयार पार्नुपर्ने जनाएको छ । बोर्डले आगन्तुक प्रतीक्षा, ग्राहक सेवा, स्टोर, सूचना प्रविधिसहित व्यवसाय संचालन सम्बन्धी कार्य संचालन गर्न छुट्टाछुट्टै कक्ष भएको कम्तिमा १ हजार वर्ग फिट क्षेत्रफलको कार्यस्थल बनाउन निर्देशन दिएको छ । 
 
कार्यालय भवन वा क्षेत्रफल भाडामा लिने भए कम्तीमा २ वर्ष अवधिको बहाल सम्बन्धी सम्झौता भएको हुनुपर्ने, टेलिफोन, फ्याक्ससहित इमेलरइन्टरनेटको व्यवस्था गर्नुपर्ने, कम्प्युटर सफ्टवेयर, सर्भर र हार्डवेयर, कम्प्युटररल्यापटप, जनशक्ति व्यवस्था अनुसार कम्प्युटर, प्रिन्टर, सीसीटीभी, पावर ब्याकअप, हाजिरी मेशिन, कार्यालयको लागि आवश्यक पर्ने फर्निचर, फिक्सचर्स तथा अन्य कार्यालय सामाग्री तयार भएको हुनुपर्ने प्रावधान ल्याएको छ ।

यस्तै प्रमुख कार्यकारी अधिकृतले अर्थशास्त्र वा वाणिज्य वा वित्त वा लेखा वा व्यवस्थापन वा वाणिज्य कानून विषयमा मान्यता प्राप्त शिक्षण संस्था बाट कम्तिमा स्नातक वा चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेको हुनेपर्ने प्रावधान समेत ल्याएको छ । यता, उद्योग, वाणिज्य वा धितोपत्र बजार वा वित्तीय क्षेत्रमा लेखा वा वित्त वा वाणिज्य कानुन वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तिमा तीन वर्ष कार्य गरेको अनुभव भएको हुनुपर्ने व्यवस्था गरेको छ । 
 
धितोपत्र व्यवसाय संचालन सम्बन्धी परामर्श सेवाका लागिका लागि कम्तिमा वाणिज्यशास्त्र, अर्थशास्त्र, व्यवस्थापनमा स्नातकोत्तर गरेको, कम्तिमा कानून विषयमा स्नातकोत्तर गरेको र चार्टर्ड एकाउन्टेन्सी वा फाइनान्सियल एनालिष्ट गरेको (यो योग्यता भएको व्यक्ति प्रमुख कार्यकारी अधिकृत भएको अवस्थामा अनिवार्य नहुने) व्यक्ति हुनुपर्ने व्यवस्था बोर्डले गरेको छ ।

अर्थशास्त्र वा वाणिज्य वा वित्त वा लेखा वा व्यवस्थापन वा कानून विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक वा चार्टर्ड एकाउन्टेन्सी गरेको १ जना अनुपालना (कम्प्लाइन्स) अधिकृत हुनुपर्ने व्यवस्था समेत गरेको छ ।
 
 

Post Your Comment