Market Closed

अनलाइन प्रणालीमा उत्पन्न समस्या एक साताभित्र समाधान हुने नेप्सेको दाबी

14 Sep,2020
  • online_system_9_14_2020_7_52_42.jpg
नेपाली पैसा
 
काठमाडौं : अनलाइन कारोबार प्रणाली (टीएमएस) मा आएको समस्या एक साताभित्र समाधान हुने नियामक निकाय नेपाल धितोपत्र बोर्ड र बजार सञ्चालक नेप्सेले दाबी गरेको छ । सेयर बजारमा देखिएको समस्याका विषयमा सोमबार अर्थ मन्त्रालयमा भएको छलफलमा बोर्ड र नेप्सेका प्रमुखले यस्तो बताएका हुन् । यता, अर्थ मन्त्रालयले भने अब यस्तो समस्या नदोहोरिने गरी काम गर्न दुवै नियामकलाई सचेत गराएको छ ।

छलफलमा बोर्ड र नेप्सेका प्रमुखले अनलाइन कारोबार प्रणालीको हार्डवेयरमा समस्या आएको र त्यसको समाधानका लागि आफूहरुले काम गरिएको बताएका छन् । छलफलमा सहभागी अर्थ मन्त्रालयका एक प्रतिनिधिले भने, ‘अनलाइन कारोबार प्रणालीको हार्डवेयरमा समस्या आएको र त्यसको समाधानका लागि काम गरिरहेको दुवै संस्थाका प्रमुखहरुले बताउनुभएको छ ।

यो समस्या एक साताभित्र समाधान हुने उहाँहरुको भनाई छ ।’ छलफलमा नेप्सेले अनलाइन प्रणाली भित्र्याउदा ७० हजार जना सम्मको क्षमतालाई पुग्ने गरी अनलाइन प्रणाली ल्याएको बताएका छन् । अहिले अनलाइनमार्फत कारोबार गर्नेको संख्या करिब १ डेढ लाख पुगेकाले हार्डवेयरमा समस्या आएको बताएको छलफलमा सहभागी ती आधिकारीले नेपाली पैसालाई बताए । 
 
बोर्ड र नेप्सेले कारोबार प्रणालीमा समस्या आउनुमा एक–आर्कालाई आरोप–प्रत्यारोप समेत छलफलका क्रममा लगाएका थिए । छलफलमा अर्थ मन्त्रालयका तर्फबाट राजस्व सचिव रामशरण पुडासैनी, सहसचिव झक्कप्रसाद आचार्यलगायतको उपस्थिति रहेको थियो । धितोपत्र बोर्डका तर्फबाट अध्यक्ष भीष्मराज ढुंगाना र कार्यकारी निर्देशक निरज गरी उपस्थित थिए । यता, नेप्सेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र कामु प्रबन्धक निरञ्जन फुयाँलको उपस्थिति रहेको थियो ।
 
 

Post Your Comment