Market Closed

शिखर इन्सुरेन्सले यसपटक लाभांश नदिने घोषणा गरेपछि समग्र बजार प्रभावित

22 Sep,2020
  • buul_9_22_2020_3_26_51.png
नेपाली पैसा 
 
काठमाडौं : शिखर इन्सुरेन्सले लाभांश नदिने घोषणा गरेपछि यसले मंगलबारको समग्र बजारलाई प्रभावित पारेको छ । निर्जीवन क्षेत्रको अग्रणी यस कम्पनीले गत वर्ष पनि लाभांश दिएको थिएन । यसले यसपटक लाभांश नदिने भनेपछि सर्वसाधारण लगानीकर्ताको मनोविज्ञान केही कमजोर बनेको अनुमान छ । अन्य कम्पनीहरुले पनि लाभांश नदिने हो कि भन्ने सर्वसाधारण लगानीकर्तालाई आशंका लागेको देखिन्छ । तथापि, कम्पनीले लाभांश नदिएपनि वितरण गर्न मिल्ने रकम रिजर्भ कोषमा राख्ने भनेको छ ।

लाभांश वितरण क्षमता हुँदाहुँदै पनि यसले यसपटक वितरण नगरेको देखिन्छ । यसबाहेक सेयर बजारमा अल्पकालीन कारोबारी पनि हावी भएका छन् । नाफा बुक गर्नेहरु सक्रिय हुँदा सेयर बजार सूचक प्रभावित भएको हो । संस्थागत लगानीकर्ताहरुमा पनि छिटोछिटो नाफा बुक गर्ने प्रवृत्ति हुन्छ । यस्ता संस्था तथा म्युचुअल फन्डहरुले समेत निश्चित प्रतिशत नाफामा काम गर्ने भएकाले पनि उनीहरु बेच्ने गर्छन् ।

यसरी अल्पकालीन कारोबारीले नाफा बुक गर्दा नेप्से सूचक अलि धेरै अंकले प्रभावित भएको अनुमान छ । लगातारजसो बढेको बजार केही करेक्सनपछि फेरि माथिल्लो लयमै फर्किने अनुमान गरिएको छ । वित्तीय प्रणालीमा प्रचुर मात्रामा रहेको तरलता र यसले घटाइदिएको सस्तो ब्याजदर नै बजार दीर्घकालमा माथि लाग्ने प्रमुख आधार हुन् । तर यसको अर्थ बजार निरन्तर बढ्छ भन्ने होइन । घट्दै बढ्ने गर्दछ । 
 
बजार बढ्दा बढी हौसिने र घट्दा ज्यादै निराश हुने प्रवृत्ति गर्नु हुँदैन । घटेको बजार फेरि माथि लाग्छ भन्ने विश्वास हुन जरुरी छ । सूचक भन्दा पनि लगानी गरिएका कम्पनीतर्फ बढी ध्यान दिन आवश्यक हुन्छ । सम्बद्ध कम्पनीको नाफा, प्रतिसेयर आम्दानी, मूल्य–आम्दानी अनुपात, रिजर्भ लगायतका पक्षमा ख्याल गर्नुपर्छ । लगानीकर्तामा धैर्यता महत्वपूर्ण पक्ष हो । बजार क्रमशः बढ्छ भन्ने आत्मविश्वास जगाउन आवश्यक हुन्छ । 
 
नेप्से सूचक मंगलबार २२.९१ अंकले घटेर १५४६.१५ विन्दुमा आइपुगेको छ । खरिदबिक्री रकम उत्साहप्रद देखिन्छ । १९९ कम्पनीको २ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ७८ लाख ५० हजार ६५ कित्ता सेयर खरिदबिक्री भएका छन् । खरिदबिक्री भएका सबै समूहका सूचक घटेका छन् । निर्जीवन बिमा समूह सबैभन्दा धेरै ११२.६६ अंकले घटेको छ । वाणिज्य बैंक समूहको सूचक पनि २२.३६ अंकले ओरालो लागेको छ । 


 
सबैभन्दा धेरै युनाइटेड फाइनान्सको सेयर भाउ ६.८२ प्रतिशतले बढेको छ । यता, लिवर्टी इनर्जीको भाउ सबैभन्दा धेरै ९.८८ प्रतिशतले ओरालो लागेको छ । खरिदबिक्री रकममा शिखर इन्सुरेन्सको सबैभन्दा धेरै ३१ करोड ९४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा नेपाल बैंक र तेस्रो धेरै कारोबार हुनेमा नेपाल पुनर्बिमा कम्पनी परेका छन् । 

 

Post Your Comment