Market Closed

सेयर बजारमा लक डाउन कमाल : यसरी बढे अनलाइन प्रयोगकर्ता

14 Oct,2020
  • online_10_14_2020_7_54_27.jpg
नेपाली पैसा 
 
काठमाडौं : कोभिड–१९ को जोखिमबाट बच्न सरकारले गरेको लक डाउनयता सेयर बजारमा अनलाइन मार्फत कारोबार गर्ने लगानीकर्ताको संख्या ह्वात्तै बढेको छ । ६ महिनाको अवधिमा अनलाइन कारोबारका लागि ‘युजर नेम र पासवर्ड’ लिने लगानीकर्ताको संख्या ९३ हजार ८ जना थपिएको छ । लक डाउन सुरु हुनुअघि अर्थात् चैत ६ गते अनलाइन प्रयोग गर्ने लगानीकर्ताको संख्या २६ हजार ६ सय मात्र थियो । नेप्सेको तथ्यांक अनुसार ६ महिना अवधिमा अनलाइन प्रयोगकर्ताको संख्या ३५३% ले बढेको हो ।

नेप्सेले सार्वजनिक गरेको पछिल्लो तथ्यांक (असोज १४ गते) सम्म कुल १ लाख २० हजार ४९९ जनाले अनलाइन कारोबारका लागि ‘युजर नेम र पासवर्ड’ लिएका छन् । यस अवधिमा अनलाइन र अफलाइन दुवै गर्दा सक्रिय लगानीकर्ताको संख्या ३ लाख ३७ हजार ३६० जना रहेको नेप्सेको तथ्यांकमा उल्लेख छ । नेपालको पुँजी बजारको इतिहासमा (करिब साढे २ दशकपछि) नेप्सेले २०७५ कात्तिक २० देखि पूर्ण स्वचालित विद्युतीय कारोबार सुरु गरेको थियो । विद्युतीय कारोबार सुरु भएको पनि २ वर्ष पुगिसकेको छ ।

अनलाइन कारोबार सुरु भएका बेला अनलाइन लग इन लिने लगानीकर्ता संख्या न्यून थियो । न्यून मात्रामा रहेको अनलाइन प्रयोगकर्ता को संख्या ह्वात्तै बढाउन लक डाउनले सहयोग गरेको जानकारहरुले बताएका छन् । सुस्त गतिमा बढेको अनलाइन प्रयोगकर्ताको संख्या लक डाउनले ह्वातै बढाउन सहयोग पुगेको भिजन सेक्युरिटिज (ब्रोकर नं ३४) का कार्यकारी अध्यक्ष राजकुमार तिमल्सिनाले बताए ।

उनले भने, ‘सुस्त गतिमा रहेको अनलाइन प्रयोगकर्ताको संख्या लक डाउनले उल्लेख्य मात्रामा बढाउन सहयोग गरेको हो ।’ पछिल्लो समय लगानीकर्ताले सहज रुपमा अनलाइन कारोबार गर्ने गरेको उनले बताए । तथापि, नेप्सेको अनलाइन कारोबार प्रणाली र टीएमएसमा समस्या आउँदा केही असहज भएको उनको भनाई छ ।

नेप्सेले भने अनलाइन प्रणालीमा देखिएका समस्या समाधान भइसकेको बताएको छ । यता, अर्का एक ब्रोकरका अनुसार अनलाइन कारोबार सबैका लागि नयाँ भएको, नेप्सेको कारोबार प्रणालीमा पटक–पटक समस्या देखिएको, लगानीकर्ता प्रविधिमा बानी नपरेको लगायत कारण सुरुमा थोरैले मात्र लग इन लिएको बताए । तर, अब विस्तारै प्रयोगकर्ता बढ्दै गएका छन् । पछिल्ला दिनहरुमा अनलाइनमा पनि खासै समस्या देखिएको छैन । 
 
पछिल्लो समय नेप्सेले ब्रोकरहरूलाई अनलाइन (कनेक्ट आइपीएस) मार्फत भुक्तानी गर्न भनेको छ । ब्रोकरहरूले पनि लगानीकर्तालाई सेयर खरिद गरेपछि विद्युतीय माध्यम (कनेक्ट आइपीएस) बाट भुक्तानी गर्न आग्रह गरेका छन् । राष्ट्र बैंकले पनि सेयर कारोबारका लागि कनेक्ट आइपीएसमा दैनिक र मासिक कारोबारको सीमामा सहजीकरण गरिदिएको छ । अर्थात् कारोबारको सीमा नलाग्ने भनिएको छ ।

यस व्यवस्थाले पनि सेयर कारोबारमा विद्युतीय माध्यमको भुक्तानी बढेको बताइएको छ । तथापि, अहिले पनि केन्द्रीय बैंकको निर्देशन विपरीत केही बैंकहरुले कनेक्ट आइपीएस भुक्तानीमा सीमा लगाएको एक ब्रोकरले बताए । उक्त सीमा नलाग्ने हो भने अझै अनलाइन प्रयोगकर्ताको संख्या बढ्ने उनको दाबी छ । सेयर बजारमा लगानीकर्ता आफैंले अनलाइनबाट सेयर खरिद बिक्री गरिरहेका छन् ।

लक डाउनले पनि लगानीकर्तालाई प्रविधिमैत्री बनाउन सहयोग पुर्याएको हो । पछिल्लो समय बजार प्रविधिमैत्री हुँदै जानुले पनि सकारात्मक सन्देश दिएको सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए । उनले बजार प्रविधिमैत्री बन्दै जाँदा विदेशमा हुनेहरुले पनि सेयर खरिदबिक्री गर्न सक्ने भएको बताए । यसले बजारमा नयाँ लगानीकर्ता भित्रिने अपेक्षा सरोकारवाला निकायको रहेको छ ।   
 
 
 
 
 
 
 
 
 
 
 

Post Your Comment