Market Closed

हेटौंडा औद्योगिक क्षेत्रमा बन्द रहेका १११ वटै उद्योग आए सञ्चालनमा

16 Oct,2020
  • hetauda_industrial_district_10_16_2020_3_38_40.jpg
 
मकावानपुर : लक डाउनका कारण लामो समय बन्द रहेको हेटौंडा औद्योगिक क्षेत्रका सबै उद्योगहरू सञ्चालनमा आएका छन् । औद्योगिक क्षेत्रमा रहेका १११ मध्ये सम्पूर्ण उद्योग सञ्चालनमा आएको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालयले जानकारी दिएको छ । लक डाउनका कारण बिस्कुट, चाउचाउ, बेकरी, खानेपानी, दाना र दुग्ध पदार्थ लगायतका अत्यावश्यक बाहेक अन्य उद्योग बन्द भएको थियो तर अहिले उद्योगहरु सञ्चालनमा आए पनि अझै पूर्ण क्षमतामा भने खुल्न नसकेको बताइएको छ । 
 
अत्यावश्यक खाद्यपदार्थ उद्योग ८० प्रतिशत क्षमतामा र अन्य रासायनिक, निर्माण सामग्री, मेशिनरी र प्लास्टिकलगायत उद्योग ५० प्रतिशत क्षमतामा सञ्चालन भएको छ । कार्यालयका अनुसार औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा करिब १० हजार ५०० जनाले रोजगारी पाएका छन् । “नयाँ–नयाँ उद्योग स्थापनाका लागि केही उद्यमीले आवश्यक जग्गा, विद्युत्, पानी उपलब्ध गराउन निवेदन दिएका छन्”, हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रशासकीय अधिकृत राजेन्द्र श्रेष्ठले भने, “सोही निवेदनको आधारमा जग्गा उपलब्ध गराउन नेपाल औद्योगिक विकास निगम काठमाडौंलाई स्वीकृत प्रदान गर्नका लागि पत्राचार गरिएको छ ।” 
 
विसं २०२० मङिसर २० गते स्थापना भएको यस औद्योगिक क्षेत्रमा अहिले विभिन्न नयाँ उद्योग स्थापना गर्न करिब एक हजार ८८५ रोपनी जग्गाको छुट्टै व्यवस्थापन गरिएको छ । औद्योगिक क्षेत्रमा निजी क्षेत्रको झन्डै ५ अर्ब ५० करोड लगानी रहेको छ । सरकारी लगानी पनि ९० करोड रहेको कार्यालयले जानकारी दिएको छ । यस औद्योगिक क्षेत्रबाट गुणस्तरीय उत्पादित विद्युतीय सामग्री, खाद्यान्नलगायत अन्य सामग्री अन्तर्राष्ट्रिय बजारमा पुर्याइ विदेशी मुद्रा आर्जन गर्ने गरेको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिए ।
 
यस औद्योगिक क्षेत्रमा उद्योग व्यवस्थापनले जग्गा सम्झौता गरी १३ वटा आफ्नो प्रशासकीय भवनको निर्माणको कार्यलाई तीव्रता दिएको छ । आगामी दुई महिनाभित्र निर्माण कार्य सम्पन्न गरी उद्योग सञ्चालनको लागि तयारी भइरहेको मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधवप्रसाद न्यौपानेले बताए ।
रासस
 

Post Your Comment