Market Closed

आज महाअष्टमी–महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गरिँदै

24 Oct,2020
  • 00_10_24_2020_9_56_10.jpg
नेपाली पैसा

काठमाडौ : आज बडा दशैंको आठौं दिन महाअष्टमी । आश्विन शुक्ला अष्टमीको दिनमा मनाइने महाअष्टमी पर्वमा नेपालीहरुले दुर्गा भवानीको पूजा आरधना गरेर मनाईने प्रचलन छ ।  महाअष्टमीमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाअर्चना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ । शास्त्र अनुसार महाअष्टमीमा दशैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बली दिई दुर्गा भवानीको विशेष पूजाआजा गरिन्छ। दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ ।
 
विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बली दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको छ । महाअष्टमीमा कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु बलीसहित पूजाआजा गर्ने गरिन्छ। यी साधनलाई देवीको शस्त्र अस्त्रका रुपमा मानी पूजा गर्ने गरिएको हो ।
 
आज दशैंघर तथा जमराकोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्नुका साथै फलामबाट बनाइएका हातहतियार र सवारी साधनलाई सफासुग्घर गरी बलीसहित पूजा गरिन्छ । 
पशु बली नचढाउनेहरू आजको दिन जमराकोठामा घिरौला, कुभिन्डो, मूला आदि बली दिई दुर्गा भवानीलाई खीर तथा नरिवल चढाउने गर्दछन्। हनुमानढोकाको दशैंघरमा आज मध्यरातमा शक्तिरूपिणी दुर्गा भवानीको पूजाअर्चना र हर्ष बढाइँका साथै ५४ राँगा र ५४ बोकाको बली दिई कालरात्रि मनाउने चलन छ ।
 

Post Your Comment