Market Closed

सेयर बजारमा ३ अर्बभन्दा बढीको कारोबार

29 Oct,2020
  • bull_na_nbear_s_10_29_2020_3_12_35.png
नेपाली पैसा 
 
काठमाडौं : सेयर बजारमा अल्पकालीन कारोबारी हावी भएका छन् । यसअघि बुधबार सेयर बजारमा उछाल आएको थियो । विशेषगरी बैंकिङ सूचकमा बेस्सरी तेजी देखिएको थियो । यसरी बढेको बजारमा अल्पकालीन कारोबारी हावी हुँदा बिहीबार फेरि सूचक सामान्य दबाबमा परेको छ । सूचकले केही दबाबको सामना गरे पनि खरिदबिक्री रकममा भने उत्साह आएको छ ।

कारोबार रकममा तेजी देखिएकाले बजारले फेरि गति लिने अपेक्षा गरिएको छ । बेस्सरी बढेको बजारमा केही करेक्सन आउनु स्वभाविक हो । बजार तलमाथि गर्दैै अघि बढ्ने हो । समग्रतामा नेप्सेको गति कतातिर जान्छ भन्ने प्रमुख पक्ष हो । कोरोनाको अवधिमा पनि बजार क्रमशः विस्तार हुँदै आएको छ ।

लगानीका अन्य क्षेत्रहरु संकुचित हुँदा सर्वसाधारण लगानीकर्ता सेयर बजारतिरै आकर्षित भएका छन् । अहिले बैंकिङ क्षेत्रमा प्रचुर लगानीयोग्य रकम (तरलता) रहेको छ । बढ्दो तरलताले ब्याजदर सस्तो भएको छ । ब्याज घटेकाले सेयर बजारमा आम लगानीकर्ताको थप आकर्षण बढिरहेको छ । 
 
सेयर बजारमा लगानीकर्ताको मनोविज्ञानले पनि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ । आम लगानीकर्ता बजार सुधार हुन्छ भन्नेमा आश्वस्त हुन आवश्यक छ । बजार तलमाथि हुँदै अघि बढ्ने हो । लगानीकर्ताले कम्पनीहरुको समग्र वित्तीय अवस्था अध्ययन गर्नुपर्छ । विशेषगरी नाफा, रिजर्भ, वितरणयोग्य नाफा, प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात लगायतलाई ख्याल गर्नुपर्छ । कम्पनीको व्यवस्थापन, सञ्चालक समितिमा पनि ध्यान दिनुपर्छ । 
 
नेप्से सूचक १.७८ अंकले घटेर १६४५.६७ विन्दुमा अडिएको छ । १९२ कम्पनीको ३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १ करोड कित्ताभन्दा बढी सेयर खरिदबिक्री भएको छ । १२ समूहको कारोबार भएकामा ६ समूहका सूचक बढेका छन् भने बाँकी ६ वटा तल झरेका छन् । सबैभन्दा धेरै निर्जीवन बिमा समूहको सूचक ३९.८९ अंकले बढेको छ । वाणिज्य बैंक समूहको सूचक ६.२७ अंकले घटेको छ । 


 
शिवश्री हाइड्रोपावर र नेपाल फाइनान्सको भाउ सर्किट लाग्ने गरी बढेको छ । सबैभन्दा धेरै सिन्धु विकास बैंकको भाउ ३.६१% ले घटेको छ । सबैभन्दा धेरै प्राइम बैंकको १३ करोड ७८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा प्रभु बैंक र तेस्रोमा एनएमबि बैंकको कारोबार भएको छ ।  

Post Your Comment