Market Closed

सस्तो भयो यस वर्ष भाई मसलाको भाउ, कुनको मूल्य कति ?

11 Nov,2020
  • masala_3_11_11_2020_8_12_38.jpg
इशारा कोइराला
 
काठमाडौं : नेपालमा तिहारका बेला सबैभन्दा धेरै ‘ड्राई फ्रुट्स’ खपत हुन्छ । भाईटीकामा दिदी–बहिनीले दाजुभाईलाई टीका लगाएर सगुनका रूपमा दिने भएकाले यसलाई कतिपयले ‘भाइ मसला’ समेत भन्ने गर्छन् । भाइटीकामा दिदीबहिनीले दाजुभाईलाई उपहार स्वरुप दिने भाई मसलाको भाउ यस वर्ष सस्तिएको छ । विगतका वर्षहरुमा व्यापारीहरुले तिहारमा भाई मसलाको मूल्य बढाउने गरेका थिए । तर, यो वर्ष भाई मसलाको भाउ गत वर्षको भन्दा घटेको छ ।

कोरोनाले गर्दा लामो समयसम्म व्यापार व्यवसाय बन्द हुँदा थन्किएर बसेको मसला बिग्रिने डरले व्यावसायीहरुले कम नाफामै बिक्री गर्न थालेका छन् । प्रयाप्त मात्रामा व्यापार नहुँदा यो वर्ष व्यापारीहरुले थोरै मात्र नाफा राखेर सामान बेच्न परेको असन मखन गल्लीका व्यापारी रुपेश तुलाधारले बताए । यस्तो शून्य तिहार कहिल्यै नभएको उनले बताए । उनले भने, ‘तिहारका सामग्रीको भाउ घटेको छ तर व्यापार छैन ।’

विगतका वर्षहरुमा दशैं लगत्तै तिहारको भाई मसला किन्न ग्राहकहरु प्रशस्त आउने गरे पनि यो वर्ष खासै ग्राहक नआएको उनले बताए । उनले भने, ‘मखन गल्लीमा व्यापार गरेर बसेको १७ वर्ष भयो विगतका वर्षहरुमा दशैं लगत्तै भाई मसला खरिदको लागि ग्राहकको भीड लाग्ने गर्दथ्यो । यस वर्ष बजार र व्यापार दुवैमा तिहारको चहलपहल छैन ।’ साथै, समान स्टक हुने डरले यो वर्ष आफूले धेरै सामान ल्याउन पनि नसकेको उनले बताए ।

विगतका वर्षहरुमा तिहारको बेला भाई मसालको परिकारको निकै खपत हुँदै आएको थियो । तर, यो वर्ष स्टक रहने डरले व्यापारीहरुले उल्लेख्य मात्रमा भाई मसला नभित्र्याएको तुलाधरले बताए । यता, नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले यसपटक व्यवासायीले पहिलेको स्टक क्लियर गर्न कम मार्जिन राखेर धमाधम बिक्री गरेकाले मसलाको मूल्य सस्तिएको बताए ।

अहिले बिक्री नगर्दा महँगो मसला बिग्रिने डरले सस्तोमा बेचेको उनको तर्क छ । उनले भने, ‘सामान्यतयः मसला बिक्री हुने भनेको होटल, रेष्टुरेन्ट, मिठाई पसल लगायतमा हो । यसपटक लामो समयदेखि होटल व्यवसाय बन्द भएकाले मसलाको माग नै भएको छैन ।’ साथै, उनले पुरानै मसला थन्किएर बसेको बताए ।
 
कुन मसलाको भाउ कति ?
 
तिहारमा ओखर, काजु, किसमिस, खजुर, नरिवल, सुपारी, बदाम, हाडे बदाम लगायतका सुख्खा फलफूलको खपत धेरै हुने गर्छ । यस वर्ष यी मसलाको मूल्य गत वर्षको तुलनामा सस्तिएको छ । मसलाको गुणस्तर अनुसार मूल्य तलमाथि छ । तर, सबै पसलमा एकै खालको मूल्य भने देखिँदैन । काजु टुक्रा नभएको तुलनात्मक रुपमा बढी रकम छ भने टुक्रा भएको कम मूल्य छ ।



यता सुपारीको मूल्य भने यसपटक बढेको छ । सुपारी विशेषगरी इण्डियन र सिंगापुरका छन् । इण्डियन सुपारी सिंगापुरको सुपारीको तुलनामा केही महंगो छ । काजु प्रतिकेजी १०० रुपैयाँदेखि २ सय रुपैयाँसम्मले घटेको छ भने किसमिस १ सय रुपैयाँसम्म घटेको छ । यता पेस्ता, नरिवल ५० रुपैयाँले घटेको छ भने छोकडा २० रुपैयाँ प्रतिकेजीका दरले घटेको छ । सुकुमेल केजीमा ५ सय रुपैयाँसम्मले घटेको छ । 
 
कुन देशबाट कुन ‘ड्राई फ्रुट्स’ आयात ?
 
तिहारमा ओखर, काजु, किसमिस, खजुर, नरिवल, सुपारी, बदाम, हाडे बदामलगायतका सुख्खा फलफूलको खपत धेरै हुने गर्छ । नेपालमा छिमेकी मुलुक भारत र चीनसहित बेलायत, इटाली, भियतनाम, यूएई, इन्डोनेसिया, पाकिस्तान, कतार, थाइल्यान्ड, अमेरिकालगायत मुलुकबाट यस्ता उत्पादन आयात हुने गरेका छन् ।

चीन र भारतबाट नरिवल, बेलायत, भारत र इटालीबाट काजु, भारत, अमेरिका, यूएई, चीनबाट हाडे बदाम, भारतबाट कटुस, अमेरिका, बेलायत र भारतबाट ओखर, भारत र चीनबाट पेस्ता, इन्डोनेसिया, थाइल्यान्ड र भारतबाट सुपारी, मलेसिया, भियतनाम आउँछ । यस्तै, भारतबाट बदाम, पाकिस्तान, कतार र भारतबाट खजुर, भारतबाटै किसमिस र सुकेको खुर्पाने, थाइल्यान्ड तथा बेलायतबाट सुकेको आरुबखडा नेपाल भित्रिने गरेको छ । 


 
नेपालमा प्याक गरिएको एवं खुला दुवै रूपमा यस्ता फलफूल आउने गरेका छन् । कतिपय फलफूल भने मिसाएर प्याक गरी ल्याइने गरेको छ । तिहारका बेलामा यस्ता फलफूलाई मरिच, ल्वाङ, सुकुमेललगायतका मसलासँगै राखेर दिदी–बहिनीले दाजुभाइलाई सगुनका रूपमा दिने प्रचलन रहेको छ ।
 

Post Your Comment