Market Closed

चीन र १४ अरु देशहरुबीच विश्वकै सबैभन्दा ठूलो व्यापारिक साझेदारी सम्झौतामा हस्ताक्षर

18 Nov,2020
  • china_an_others_11_18_2020_1_29_29.jpg
 
भियतनाम : चीन र १४ अरु देशहरुबीच आइतबार विश्वकै सबैभन्दा ठूलो व्यापारिक साझेदारी गर्ने सम्बन्धी एउटा सहमति भएको छ । यो समूहसँग विश्वकै एक तिहाई आर्थिक गतिविधि हुने गरेको छ । क्षेत्रीय वृहत आर्थिक साझेदारी (आरसेप) सहमतिमा आइतबार भर्चुअल बैठकबाटै हस्ताक्षर भएको छ । दक्षिणपूर्वी एसियाली संगठन (आसियान) को वार्षिक सम्मेलनका अवसरमा उक्त सहमतिमा हस्ताक्षर भएको हो । 
 
सम्मेलन आयोजक समितिका अध्यक्ष राष्ट्र भियतनामका प्रधानमन्त्री नुहेन झुआन फुकले विगत ८ वर्षदेखिको कडा प्रयत्नपछि आरसेपमा हस्ताक्षर भएकामा आफूलाई निकै खुशी लागेको बताए । विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र व्यापार सम्झौता मानिएको आरसेपले बहुपक्षीय व्यापार प्रणाली अहिलेको आवश्यकता रहेको फेरि पुष्टि गरेको प्रधानमन्त्री फुकले बताए ।

यस सम्झौताबाट दिगो व्यापार सहजीकरणलाई सक्षम तुल्याउने, कोभिड–१९ का कारण छिन्नभिन्न भएको आपूर्ति प्रणालीलाई पुनर्जीवित तुल्याउने तथा महामारी पश्चातको आर्थिक पुनरुत्थानका लागि पनि सहयोग गर्ने उनले विश्वास व्यक्त गरे । सदस्य राष्ट्रहरुबीच यसअघि नै न्यून व्यापार कर रहेको अवस्थामा यस सम्झौताले अझ करका दरहरुमा कमी ल्याउने छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सन् २०१६ मा सुरु गर्दा ११ सदस्यीय अन्तर–प्रशान्त व्यापार सम्झौता परित्याग गरेका थिए । अन्तर–प्रशान्त सम्झौतामा आसियानका १० सदस्य राष्ट्रका अलावा यसमा चीन, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया र न्यूजील्यान्ड पनि समावेश छन् ।

जसमा संयुक्त राज्य अमेरिका सदस्य छैन । यस समूहमा सदस्य हुन भारतलाई पनि आमन्त्रण गरिएको छ । तर भारतमा यस सम्झौतालाई लिएर विरोध भएपछि भारत पछि हटेको छ । पछिल्लो आरसेप सम्झौताको विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन ।

करका दर बारेमा जापानका लागि बनाइएको दस्तावेज १ हजार ३३४ पृष्ठको भएकाले समग्र सम्झौताको बारेमा अध्ययन गर्न समय लाग्ने बताइएको छ । आशियान सदस्य राष्ट्रहरुमा कम्बोडिया, इन्डोनेसिया, लाओस, म्यान्मार, फिलिपिन्स, थाइल्यान्ड, ब्रुनाई, सिंगापुर, मलेसिया र भियतनाम रहेका छन् । 
 
रासस–एपी
 

Post Your Comment