Market Closed

पुँजी बजारको समग्र विकासमा नेतृत्वदायी भूमिका स्थापित गर्ने मेरो एकमात्र उद्देश्य : अम्बिका पौडेल

24 Nov,2020
  • ambica_11_29_2020_9_31_09.jpg
 
काठमाडौं : नेपालको पुँजी बजार यतिबेला लगभग मुलुकको जीडीपीको आकार नजिक आउन लागेको छ । पुँजी बजार समग्र अर्थतन्त्रको महत्वपूर्ण हिस्सा हो । किन भने सरसर्तीरुपमा अर्थतन्त्रको मापन नै पुँजी बजारमार्फत गरिन्छ । एकातिर यसले निकै छिटो तरलता पैदा गर्न सक्छ भने अर्कोतिर कुनै पनि देशको अर्थतन्त्र कस्तो छ ? लगानीकर्ताको आत्मबल कस्तो छ भनेर पनि यसले देखाउने गर्छ ।

विदेशी लगानीकर्ताले अन्य देशमा लगानी गर्नुअघि सर्वप्रथम पुँजी बजारलाई नै हेर्ने गर्छन् । यसर्थ, यस्तो क्षेत्रको तर्फबाट पनि सशक्त प्रतिनिधित्व हुनुपर्छ भनेर नै मैले नेपाल उद्योग वाणिज्य महासंघको यही मंसिर ११–१३ गतेसम्म हुन गइरहेको निर्वाचनमा एसोसिएट सदस्य पदमा उम्मेदवारी दिएको हुँ । किन भने सूचीकृत कम्पनीहरुको तर्फबाट त्यहाँ प्रतिनिधित्व हुन्छ ।

म अहिले जुन ठाउँमा छु यसको धरातल भनेकै पुँजी बजार हो । जीवनभर पुँजी बजारलाई नै आफ्नो कर्म क्षेत्र बनाएकाले पनि यो पदका लागि म उपयुक्त पात्र हुँ भन्ने लाग्छ । सुधारको क्रममा रहेको पुँजी बजारलाई अझै दिगो, फराकिलो र सबैको बनाउनका लागि राष्ट्रियस्तरमै दरिलो र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने अवस्था छ । यही एकमात्र उद्देश्यका साथ मैले निर्वाचनमा भाग लिएको हुँ ।  
 
हुन त चाहे, नेपाल उद्योग वाणिज्य महासंघमा होस् या हाम्रो पुँजी बजार भित्रै किन नहोस् । यहाँ धेरै सम्मानित अग्रजहरु हुनुहुन्छ । उहाँहरुले विगतमा धेरै मेहनत गर्नुभएको छ । उहाँको मार्गदर्शनलाई अवलम्बन गर्दै हामीले अघि बढ्नुपर्छ । पुँजी बजारमा पनि धेरै ज्ञान र समय बिताएका अग्रजहरु हुनुहुन्छ । उहाँहरुले व्यक्तिगतरुपमा धेरै योगदान पनि गर्नुभएको छ ।

तर निजी क्षेत्रको सशक्त प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघमार्फत भने यस क्षेत्रकै तर्फबाट विशुद्ध रुपमा प्रतिनिधित्व गरेर अघि बढ्न सकिएको छैन । अब यस क्षेत्रको दिगो विकासका मुद्दाहरुलाई सशक्तरुपमा उठाउनुपर्छ । हुन त म अहिले जलविद्युत, पर्यटन, बैंक तथा वित्तीय संस्था, बिमा, निर्माण व्यवसाय तथा उद्योगमा पनि आवद्ध छु । तर मेरो धरातल पुँजी बजार भएकाले यसैलाई नै मुख्यरुपमा प्रतिनित्व गर्न चाहेको हुँ । 
 
विशेषगरी यसको विकासमा आवाज बुलन्द गर्न अझ बढी मज्जा आउँछ, मलाई । यतिमात्र होइन, मैले रुग्ण उद्योग, व्यवसायलाई पनि सम्हालेको छु । उद्यमी व्यवसायीका वास्तविक समस्या र पीडा कति अनि कस्ता हुन्छन् भन्ने पनि मैले राम्रोसँग भोगेको छु । यसर्थ, यी समग्र समस्यालाई पनि सम्बोधन गर्न सक्छु भन्ने लागेको छ । सरकार, निजी क्षेत्र र अन्य सरोकारवालाबीच आपसी समन्वय र सहकार्य गरेर हामीले समग्र निजी क्षेत्रका समस्या समाधान गर्न सक्छौं । त्यसैगरी, पुँजी बजारका समस्या पनि समाधान गर्ने हो । 

 
अब अलिकति पुँजी बजारतिरै केन्द्रित भएर कुरा गरौं । यतिबेला बजार विस्तारको क्रममा छ । रियल सेक्टरका कम्पनीहरु आएका छन् । सिमेन्ट, पर्यटन लगायतका क्षेत्र आएका छन् । अरु आउँदै पनि छन् । नेपालको पुँजी बजार विस्तारै राम्रो ट्रयाकमा आउँदैछ । विगत ४ वर्षसम्म ओरोलो लागेको बजारलाई कोभिडले बीचमा झन् नराम्रो असर पार्यो । तर यसबीचमा सरकार, नियामक निकाय नेपाल धितोपत्र बोर्डसहित सरोकारवालाको सहयोग र समन्वयमा राम्रो बनाउने प्रयत्नहरु भइरहेका छन् ।

आम लगानीकर्तामा पनि अब सधैं कोभिडको त्रासमा मात्र होइन, यससँगै जिउने कला सिक्नुपर्छ भन्ने मान्यता र आत्मविश्वास पनि विकास भएको छ । यसैकारण कोभिडको यस्तो महामारीका बीचमा पनि लगानीकर्ताको आत्मबल वृद्धि हुन सकेको हो । भ्याक्सिन आएपछि विस्तारै आर्थिक क्रियाकलापहरुमा पनि वृद्धि हुनेछ । यतिबेला सेयर बजारको वृद्धिमा बैंक ब्याजदरको पनि भूमिका छ । ब्याजदर घटेको छ ।

निक्षेपकर्ताहरुले बचतमा निकै न्यून दरमा ब्याज पाउने भएपछि उनीहरु पनि सेयर बजारमै आकर्षित भएका छन् । यस्तो बेला सजिलै गर्न सकिने व्यवसाय भनेको स सेयर बजार नै हो । त्यतिमात्र होइन, पछिल्ला दिनहरुमा केही कमीकमजोरीहरुका बाबजुत पनि प्रविधिले फड्को मारिरहेको छ ।  पहिला ५० जना ब्रोकरको हातमा हुने कम्प्युटरको माउस अहिले ५० हजारभन्दा बढीको हातमा एकैसाथ गएको छ ।

लगानीकर्ताले आफैंले सेयर किनबेच गर्न सक्ने भएका छन् । यो पनि महत्वपूर्ण उपलब्धि हो । यसर्थ, अहिले पुँजी बजारमा जुन उत्साह देखिएको छ, त्यो सरकार, नियामक, प्रविधि तथा लगानीकर्ताको उत्साह सबै पक्षको समग्र कम्बिनेसन हो । मैले सेयर बजार अझै राम्रो हुने देखिरहेको छु । किनभने बजार अझै पनि ४ वर्षअघिको विन्दुसम्म पनि पुगिसकेको छैन । यसबीचमा बजारमा अनगिन्ती सुधारका काम भएका छन् । 
 
तर अझै पनि कतिपय लगानीकर्ताले पहिला व्यहोरेको क्षतिको पूर्ति भएको छैन । यसबीचको ब्याज कहाँ गयो ? सुधारबाट प्राप्त हुने परिणाम कहाँ गयो ? त्यसबेला १० लाख लगानीकर्ता थिए होलान अहिले २० लाख पुगिसकेका छन् । यसर्थ, बजार अझ राम्रो हुनुको विकल्प छैन । प्रविधिमा सुधार, लगानीकर्ताको संख्या वृद्धि, सरकार र नियामकको सकारात्मक भूमिका अनि समय चक्र यी सबै कारणले गर्दा सेयर बजारको माथिल्लो यात्रा प्रारम्भ भएको हो । 


 
तर यही बेला आम लगानीकर्ताले के बुझ्नुपर्छ भने नेप्से बढ्दैमा सबै कम्पनीको भाउ उही हिसाबले वृद्धि हुँदैन । हामीले नेप्से कारोबार गर्ने होइन, हामीले कम्पनीको सेयर कारोबार गर्ने हो । अथवा, अप्ठेरो अवस्थामा जोखिम अधिक हुनेतर्फ पनि ख्याल गर्दै विवेकशील भएर लगानी गर्नुपर्छ । लगानीकर्ताले विवेक गुमाउनु हुँदैन । लगानी गर्नुअघि सम्बद्ध कम्पनीको समग्र अवस्थासहित प्रमुख रुपमा प्रतिसेयर आम्दानी, नेटवर्थ, रिभर्ज, व्यवसाय विस्तारको सम्भावना, सञ्चालकहरु, व्यवस्थापन पक्षलाई सदैव ख्याल गर्नैपर्छ । लगानीको सम्भावित प्रतिफललाई ध्यान दिनुपर्छ । 
 
यसो गर्न सकेमा पुँजी बजारबाट मनग्ये लाभ लिन सकिन्छ । समग्रमा हाम्रो पुँजी बजारको भविष्य उज्जवल छ । पुँजी बजारलाई अझै फराकिलो, सबैको पहुँचमा पुग्ने बनाउन, यसप्रति आम लगानीकर्ताको संलग्नता बढाउन, सुधारका अनगिन्ती काम गर्नका लागि मेरो सधैभरि पहल, साथ र सहयोग हुनेछ । विगतमा नेपाल इन्भेष्टर्स फोरमको नेतृत्व गर्दा पनि मैले यो भूमिका निर्वाह गरेकै हुँ । अब पनि जिम्मेवारी पूरा गर्न दृढ भएर लाग्नेछु ।  
 
(नेपाली पैसाले गरेको कुराकानीमा आधारित) 
 
 

Post Your Comment