Market Closed

सेयर बजार प्रष्टरुपमा बुलिस ट्रेन्डमा : कतिपय कम्पनीमा दिनहुँ सर्किट लागेर भाउ बढ्दै

02 Dec,2020
  • Bull_market_12_2_2020_3_18_25.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेयर बजारमा स्पष्टरुपमा बुलिस प्रवृत्ति देखिएको छ । कतिपय कम्पनीहरुको भाउ बढेर दिनहुँजसो सर्किट ब्रेकर लाग्न थालेको छ । विशेषगरी बिमा, उत्पादनमूलक र अन्य समूहमा व्यापक तेजी आएको छ । नेप्से सूचकले दिनहुँजसो ऐतिहासिक उचाई तय गर्दैै अघि बढेको छ । सूचक २००० अंकभन्दा माथि अडिएपछि झनै सकारात्मक माहोल थपिएको हो ।

खरिदबिक्री रकममा पनि उस्तै तेजी छ । पछिल्ला प्रवृत्तिहरु हेर्दा बजार स्पष्ट रुपमा बुलिस चक्रमा प्रवेश गरिसकेको अनुभवी लगानीकर्ताहरु बताउँछन् । बुलिस बजारको प्रवृत्ति यस्तै हुन्छ । राम्रा कम्पनीहरुको भाउ एक लेबलमा नपुग्दासम्म नरोकिन बढ्ने गर्दछ । त्यसपछि फेरि विस्तारै यसअघि नबढेका कम्पनीहरु पनि बढ्न सुरु गर्छन् । बजारको घट्ने भन्दा बढ्न अनुपात नै बढी हुन्छ ।

यसर्थ, लगानीकर्तामा धैर्यता आवश्यक छ । बजारले दिनहुँ नयाँ उचाईहरु बनाइरहेका बेला हेर्ने, बुझ्ने र मनन् गर्नेतर्फ पनि उत्तिकै ध्यान दिन आवश्यक हुने अनुभवीहरु सुनाउने गर्छन् । बैंकिङ प्रणालीमा अत्याधिक तरलता थुप्रिएको छ । सोही कारण केन्द्रीय बैंकले समेत एकैसाथ ५० अर्ब रुपैयाँ तान्दैछ । बैंकहरुले सेयर कर्जा मज्जाले प्रवाह गरिरहेका छन् । ब्याजदर सस्तो छ । बजारले लामो अवधिको वियरिस चक्र पूरा गरेको छ । 

सेयर बजारसम्न्धी नीतिनियमहरु निकै सुधारउन्मुख छन् । यस्तो बेलामा बजार बढ्नुलाई अन्यथा मान्न नहुने विश्लेषकहरु बताउँछन् । बजारको आफ्नै नियम हुन्छ । निश्चित चक्रमा हिँड्छ । यसका बारेमा पनि जानकारहरु आवश्यक पर्ने उनीहरुको भनाई छ । तर लगानीकर्ताहरुले आवेग र उत्तेजनामा भन्दा पनि विवेकपूर्ण हिसाबले लगानी सम्बन्धी निर्णय लिनुपर्छ । कम्पनीहरुको वित्तीय सूचकलाई अध्ययन गर्न बिर्सिनु हुँदैन । 
 
समग्रमा नेप्से सूचकको प्रवृत्ति महत्वपूर्ण भए पनि विशेष गरेर आफूले लगानी गरकै कम्पनीमा बढी ध्यान दिनुपर्छ । लगानी गर्ने कम्पनीको समग्र अवस्था जस्तो, नाफा, रिजर्भ, प्रतिसेयर आम्दानी, कम्पनी सञ्चालक, व्यवस्थापक अनि भविष्यमा कम्पनीको योजना लगायतलाई ख्याल गर्न आवश्यक हुन्छ । साथै, लगानीकर्ताले होल्ड गर्न सक्ने अवधिमा पनि विचार पुर्याउनुपर्छ । जोखिम बहन क्षमतालाई पनि ख्याल गर्न आवश्यक हुन्छ ।
 
नेप्से सूचक ७०.६२ अंकले बढेर २०७१.०२ विन्दुमा आइपुगेको छ । २०१ कम्पनीको ७ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १ करोड ५५ लाख ६४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । व्यापारिक बाहेक बाँकी सबै समूहका सूचक वृद्धि भएका छन् । बिमा, माइक्रोफाइनान्स, उत्पादनमूलक तथा अन्य समूहका सेयरहरु तेजी आएको छ ।



२ दर्जनभन्दा बढी कम्पनीको भाउ बढेर सकारात्मक सर्किट लागेको छ । यता, युनिलिभरको भाउ सबैभन्दा धेरै ५.१९% ले घटेको छ । खरिदबिक्री रकममा नेपाल टेलिकम अग्रस्थानमा छ । यसको ४० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा नेपाल लाइफ इन्सुरेन्स र तेस्रोमा नबिल बैंक परेका छन् । 




Post Your Comment