नेपाली पैसा
काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो ५ महिनामा कुल वस्तु निर्यात ५.१% ले बढेर ५० अर्ब ६ करोड रुपैयाँ पुगेको तथ्यांक सार्वजनिक गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल वस्तु निर्यात २७.०% ले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ८.६% र ०.८% ले निर्यात वृद्धि भएको छ ।
तर, चीनतर्फ भने ५५.२% ले निर्यात घटेको छ । वस्तुगत आधारमा अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), चाउचाउ, पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ । पाम तेल, दाल, जस्तापाता, उनी गलैंचा, लत्ताकपडा लगायतका वस्तुको निर्यात घटेको छ ।
यता, आर्थिक वर्ष २०७७७८ को पहिलो ५ महिनामा कुल वस्तु आयात ९.६% ले घटेर ५ खर्ब २५ अर्ब ५० करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४.२% ले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १.१%, २४.४% र २०.८% ले घटेको छ ।
वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ । पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, हवाईजहाज तथा पार्टपुर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जा, कच्चा पाम तेल लगायतका वस्तुको आयात घटेको छ ।