Market Closed

सामाजिक सञ्जालहरुदेखि चिया पसलसम्म आइपीओकै चर्चा, बैंकमा सेयर भर्नेको भीड उस्तै

18 Jan,2021
  • IPOsss1_1_21_2021_10_42_34.jpg
इशारा कोइराला
 
‘आइपीओ भर्नु भयो त ?’
‘आइपीओ नभर्ने त कुरै भएन । मैले त  छोराछोरी, श्रीमती सबैको डिम्याट एकाउन्ट खोलेर आइपीओ भरे ।’
‘मैले पनि आमाबुबा सबैको नाममा आइपीओ भरे ।’ 
 
यो पुरानो बानेश्वरको एउटा चिया पसलमा भएको सम्वाद हो । चिया पसलको यो सम्वादले आइपीओको चर्चा सामान्य व्यक्तिहरुमाझ पनि उत्तिकै हुने गरेको देखिएको छ । विशेषगरी दोस्रो बजार बुलिस हुँदै गएपछि चोक–गल्ली अनि चिया पसल जताततै यस्ता गफ चल्ने गर्छ । सेयर बजारको चर्चा हुन थाल्छ । यो समग्र पुँजी बजारको लागि राम्रो पक्ष पनि हो । 
 
चिया पसलमा मात्रै होइन पछिल्लो समय आइपीओको चर्चा सामाजिक सञ्जालहरुमा निकै बढी हुने गरेको छ । पहिले सेयर बजारसँग सम्बिन्धित रहेर सञ्चालन भएका फेसबुक ग्रुपहरुमा मात्र सेयर बजारको बारेमा चर्चा हुने गरेकोमा अहिले त्यो चर्चा ‘ट्रोल’ निर्माण गर्ने ग्रुपहरुमा पनि हुने गरेको छ । यसैको उदाहरण स्वरुपः युवाहरु माझ लोकप्रिय रहेको ‘रुटिङ् अफ नेपाल बन्द’लाई लिन सकिन्छ । 
 
फेसबुकमा २१ लाखभन्दा बढीले लाइक गरेको यस पेजले केही समय पहिलेसम्म सेयर बजारलाई लिए कुनै पोष्ट नगरेकोमा पछिल्लो समय दैनिक जस्तो सेयर बजार त्यसमा पनि आइपीओसँग सम्बन्धित भएर एउटा पोष्ट गर्ने गरेको छ । यो त एउटा फेसबुकको उदाहरण ग्रुप मात्रै हो यो बाहेक श्रीमती संगठन लगायतका फेसबुक ग्रुपमा पनि आइपीओको चर्चा हुने गरेको छ ।

 सामाजिक सञ्जालका अरु माध्यमहरु ‘टुइटर’, ‘इन्ष्ट्राग्राम’ मा आइपीओको बारेमा प्रसस्त पोष्टहरु देख्न सकिन्छ । पछिल्लो समय लोकप्रिय बन्दै आएको ‘टिकटक’मा पनि आइपीओको बारेमा विभिन्न प्रयोगकर्ताले भिडियो बनाएर पोष्ट गर्ने गरेका छन् भने त्यो पोष्टमा लाखौं लाइक र कमेन्ट आउने गरेका छन् । यसले पछिल्लो समय आइपीओमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ । 

 


बैंकमा सेयर भर्नेको भीड 
 
शुक्रबार माघ २ गतेदेखि आइपीओ खुलेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा आवेदन दिन बैंकमा लगानीकर्ताको भीड लागेको छ । लगानीकर्ताले मेरो सेयर सफ्टवेयरमार्फत घरबाटै सेयर आवेदन दिन सक्ने भए पनि बैंकमा पनि आम लगानीकर्ताको उत्तिकै भीड लाग्ने गरेको छ । यसको कारण भनेको पछिल्लो समय ै डिम्याट खाता खोलेकाले मेरो सेयरको सबै प्रक्रिया पूरा गर्न नभ्याएर हो भने, केही लगानीकर्ता मेरो सेयर सफ्टवेयर चलाउन नजानेर पनि बैंकमा अस्वामार्फत सेयर भर्न गएका हुन् ।

सिद्धार्थ बैंक गोंगवु शाखामा भेटिएका तनहुँका सूर्यनाथ वाग्ले मेरो सेयर सफ्टवेयरका लागि बैंकमा आवेदन दिएकाले अहिले सी आस्वामार्फत नै बैंकमा आएर इन्फ्रास्ट्रक्चर बैंकको सेयरमा आवेदन दिएको बताउँछन् । बैंकका कर्मचारी पनि पछिल्लो समय डिम्याट खाता, मेरो सेयर र सीआरएन नम्बर लिन बैंकमा सेवाग्राहीको भीड लाग्ने गरेको बताउँछन् । 
 
झन् आइपीओ खुल्दा सी अस्वामार्फत सेयर भर्ने लगानीकर्ताको बिहानदेखि नै भीड लाग्ने गरेको कृषि विकास बैंक महाराजगञ्ज शाखामा काम गर्ने एक कर्मचारी बताउँछिन् । उनले भनिन्,‘अहिले बैंकमा अधिकांश सेवाग्राही डिम्याट खाता, मेरो सेयर र सीआरएन नम्बर लिन आउने गर्नुभएको छ । आइपीओ खुलेको बेला बैंकमा आएर सेयर भर्ने लगानीकर्ता पनि पछिल्लो समय बढेको छ ।’
 
दैनिक १७ हजार भन्दा बढीले खोल्छन् डिम्याट खाता
 
सीडीएसको पछिल्लो तथ्यांक अनुसार दैनिक औषतमा १७ हजार जनाभन्दा बढीले डिम्याट खाता खोल्ने गरेका छन् । केहि महिनायता यसरी दैनिक रुपमा डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या ह्वातै बढेको सीडीएसको तथ्यांकमा उल्लेख छ । सीडीएसको पछिल्लो तथ्यांक आज माघ ५ गते सोमबारसम्म डिम्याट अकाउन्ट खोल्नेको संख्या २५ लाख ८२ हजार १०४ जना रहेका छन् ।

गत शुक्रबारसम्म यो संख्या २५ लाख ३४५ जना मात्र थियो । यसरी हेर्दा २ दिनमा डिम्याट खाता खोल्नेको संख्या भारीमात्रामा वृद्धि भएको देखिन्छ । यता, दैनिक रुपमा मेरो सेयर सुविधा लिनेको संख्या औषतमा १३ हजार भन्दा बढी रहेको सीडीएसले जनाएको छ । 




 
आखिर, आइपीओमा यति धेरै आकर्षण किन ?
 
पछिल्लो समय आइपीओमा ह्वातै आकर्षण बढ्नुको मुख्य कारण भनेको दोस्रो बजारमा सेयरको भाउ बढ्दै जानु नै हो । दोस्रो बजार सुधार हुँदै जाँदा प्राथमिक बजारमा पनि लगानीकर्ताको चाप वृद्धि हुने गर्छ । पछिल्लो समय आइपीओ खुला गरेर दोस्रो बजारमा सूचीकृत भएका सबै कम्पनीको सेयरबाट लगानीकर्ताले राम्रो नाफा प्राप्त गरेका छन् । यसबीचमा सबैभन्दा धेरै आकर्षण र नाफा नेपाल पुनर्बिमा कम्पनीले बनाएको देखिन्छ । यस कम्पनीको सेयर भाउ निकै छोटो समयमा अत्याधिक वृद्धि भएको छ ।

यसबीचमा प्रायः सबै कम्पनीको सेयर भाउ वृद्धि भएको छ । यस्तै, लक डाउनका कारण मानिसको प्रविधिसँग निकटता बढेको देखिन्छ । यसले पनि आइपीओमा लगानी गर्न थप सहज बनाएको छ । सथै, सधै व्यस्त हुने मानिसले लक डाउनमा मिलेको फुर्सदका बेला सेयर बजार सम्बन्धी अध्ययन गर्न पाएकाले पनि यसतर्फ आकर्षण बढाउन सहयोग पुगेको जानकारहरु बताउँछन् ।

यसको अलावा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले हालसम्मकै ठूलो (८ अर्ब रुपैयाँ) बराबरको आइपीओ जारी गरेकले पनि यसमा लगानीकर्ताको आकर्षण बढ्न गएको हो । यो आइपीओ भर्न निकै नयाँ आवेदकहरु थपिएका सरोकारवालाहरुको भनाई छ । 
 
अझै प्राथमिक सेयर बजारमा पहुँच बढाउन आवश्यक
 
प्राथमिक बजारमा सेयर आवेदन दिनेको संख्या बढिरहेको भए पनि अझै यो पर्याप्त देखिएको छैन । कुल जनसंख्याको अत्यन्त न्यून हिस्सामात्र आइपीओ बजारमा आएको पाइन्छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सोमबारसम्म २५ लाख ८२ हजार १०४ जनाले डिम्याट एकाउन्ट खोलेका छन् । करिब ३ करोड जनसंख्यालाई आधार मान्ने हो भने यो संख्या ज्यादै कम हो ।

एउटा व्यक्तिले २ वटासम्म डिम्याट खोल्ने पाउने व्यवस्था भएकाले पनि यो संख्या उच्च देखिएको हो । तथापि, प्राथमिक बजारको ज्ञान र पहुँच आभावका कारण पनि अझै आइपीओ आवेदन दिनेको कम रहेको हो । यसलाई सरोकारवाला निकायले स्वीकार गरेर वित्तीय शिक्षा र पहुँचको वृद्धि गर्न आवश्यक देखिन्छ ।

 

Post Your Comment