Market Closed

सेयर बजारमा फेरि देखियो सुधार, अब के होला ?

20 Jan,2021
  • bull_1_20_2021_3_19_07.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेयर बजार बुधबार सकारात्मक देखिएको छ । छिनछिनको उतारचढावका बाबजुत पनि नेप्से हरियै भएर बन्द भएको हो । अन्तिम प्रहरमा बजार थप बलियो देखिएको हो । यसअघि लगातार बढेको बजार मंगलबार केही करेक्सन भएको थियो । यतिबेला सेयर बजार २३ सय अंक माथि हिँडिरहेको छ । सूचकले निरन्तरजसो माथिल्लो रेखाहरु कोर्दै गएपछि लगानीकर्ता थप उत्साहित भएका छन् ।

बजार अझै कति बढ्ला अनि कहिलेसम्म वृद्धिक्रम जारी रहला भन्ने पनि आम लगानीकर्तामा निकै चासो र कौतुहलता रहेको देखिन्छ । बजार विश्लेषकहरुका अनुसार बुलिस प्रवृत्तिमा बजार अझै लामो समय रहन सक्छ । किन भने विगतमा पनि बुलिस बजार ४–५ वर्षसम्म टिकेको थियो । बैंक ब्याजदर, अधिक तरलता लगायतका प्रमुख पक्षले पनि साथ दिइरहेको छ । बेलाबखत सानाठूला करेक्सन आए पनि समग्रमा बजारको गति माथितिरै हुनेछ । 
 
तथापि, लगानीकर्ताले के ध्यान दिनुपर्छ भने सेयर बजार सधैं एउटै बाटो र उही गतिमा हिँड्दैन । बेलाबेला बाँङोटिंगो बाटोमा पनि लाग्छ । यसर्थ, लगानीकर्तामा धैर्यता आवश्यक हुन्छ । योजनाबद्ध हिसाबले लगानी गर्न सके दिनहुँ हुने उतारचढावबाट खासै प्रताडित हुनुपर्दैन । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता, सस्तो ब्याजदर र चक्रीय नियमले पनि समग्रमा बजारको गति थप सकारात्मक हुने विश्लेषणहरु भइरहेका छन् ।
 
। बजारले लामो अवधिको वियरिस चक्र पूरा गरेर बुलिस बाटोमा लागेको छ । सेयर बजारसम्न्धी नीतिनियमहरु निकै सुधारउन्मुख छन् । यस्तो बेलामा बजार बढ्नुलाई अन्यथा मान्न नहुने विश्लेषकहरु बताउँछन् । बजारको आफ्नै नियम हुन्छ । निश्चित चक्रमा हिँड्छ । आवेग र उत्तेजनामा भन्दा पनि विवेकपूर्ण हिसाबले लगानी सम्बन्धी निर्णय लिनुपर्छ । कम्पनीहरुको वित्तीय सूचकलाई अध्ययन गर्न बिर्सिनु हुँदैन । 
 
समग्रमा नेप्से सूचकको प्रवृत्ति महत्वपूर्ण भए पनि विशेष गरेर आफूले लगानी गरकै कम्पनीमा बढी ध्यान दिनुपर्छ । लगानी गर्ने कम्पनीको समग्र अवस्था जस्तो, नाफा, रिजर्भ, प्रतिसेयर आम्दानी, कम्पनी सञ्चालक, व्यवस्थापक अनि भविष्यमा कम्पनीको योजना लगायतलाई ख्याल गर्न आवश्यक हुन्छ । साथै, लगानीकर्ताले होल्ड गर्न सक्ने अवधिमा पनि विचार पुर्याउनुपर्छ । जोखिम बहन क्षमतालाई पनि ख्याल गर्न आवश्यक हुन्छ ।
 
नेप्से सूचक १५.८७ अंकले बढेर २३४२.७६ विन्दुमा आइपुगेको छ । २११ कम्पनीको ६ अर्ब २१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १ करोड ५९ लाख ८१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । जीवन बिमा, फाइनान्स, निर्जीवन बिमा लगायतका समूहमा बढी तेजी आएका छन् ।



१५ कम्पनीको भाउ ९% भन्दा बढीले वृद्धि भएको छ । खरिदबिक्री रकममा नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा छ । यसको ६१ करोड ४० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा प्रभु बैंक र तेस्रोमा नेपाल पुनर्बिमा कम्पनी परेका छन् । 


Post Your Comment