Market Closed

नेप्से दबाबमा परे पनि हाइड्रोपावर र अन्य समूहमा देखियो चमक

22 Feb,2021
  • bulls_beass_sss_2_22_2021_3_18_02.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेयर बजारमा ट्रेडर हावी भएका छन् । सूचक बढ्दै जाँदा सोही अनुपातमा कम्पनीहरुको भाउहरु पनि वृद्धि भयो । भाउ बढेको मौकामा नाफा बुक गर्नेहरु हावी भएका हुन् । नाफा बुक गर्नेहरु सक्रिय हुँदा त्यसको सीधा प्रभाव नेप्से सूचकमा परेको छ । अहिले नेप्से २६०० विन्दुभन्दा माथि छ । यसबीचमा सही कम्पनी छनोट गर्न सक्नेले राम्रै नाफा पनि कमाएका छन् ।

नाफा भएकाहरुले बेलाबेला बुक गर्नुलाई अन्यथा मान्न सकिन्न् । तथापि, दीर्घकालीन लगानीकर्तालाई भने यसले खासै फरक पर्दैन । दिनहुँ हुने उतारचढावसँग उनीहरुले खास ध्यान दिएका पनि हुँदैनन् । यस्ता लगानीकर्ताले सबल वित्तीय सूचक भएका कम्पनीहरु छनोट गरेर लामो समयसम्म होल्ड गर्ने रणनीति बनाएका हुन्छन् । लामो समय होल्ड गरेर मनग्ये नाफा लिने उनीहरुको रणनीति हुन्छ । 
 
बढ्दोक्रममा रहेको बजारमा बेलाबेला करेक्सनहरु आइरहन्छ । बीचबीचमा आउने यस्ता सानाठूला करेक्सनले बजारलाई थप बलियो बनाउने विश्लेषकहरुको भनाई छ । सेयर बजार सधैं सोझो रेखामा मात्र हिँड्दैन । तलमाथि गर्दै अघि बढ्ने यसको विशेषता हुन्छ । यसर्थ, बजारको यो नियमका बारेमा पनि सर्वसाधारण लगानीकर्तालाई ज्ञात हुन आवश्यक छ ।

प्रमुख पक्ष आफू अल्पकालीन, मध्यकालीन वा दीर्घकालीन कस्तो प्रकारको लगानीकर्ता हो भन्ने यकिन गर्न सक्नुपर्छ । सोही अनुसार आफ्ना रणनीतिहरु अघि बढाउनुपर्छ । जोखिम बहन क्षमतालाई पनि ख्याल गर्नुपर्छ । लगानीकर्ताले आफ्नो पोर्टफोलियोमा विशेष ख्याल गर्नुपर्छ । लगानी गरिएका कम्पनीको अवस्था, जोखिम बहन क्षमतामा पनि सधैं ख्याल गर्नुपर्ने हुन्छ । कम्पनीहरुको समग्र वित्तीय अवस्थामा ध्यान पुर्याउनुपर्छ ।

प्रतिसेयर आम्दानी, रिजर्भ, लाभांश वितरण क्षमतालाई पनि ख्याल गर्नुपर्ने हुन्छ । त्यसो त सेयर बजारलाई यतिबेला प्रविधि पनि उत्तिकै साथ दिएको छ । हाम्रो बजारमा अनलाइन प्रणाली सुरु भएपछि पहिलोपटक बुल रन सुरु भएको हो । यसर्थ, बजारले यसपटक प्रविधिको मूल्य पनि दिंदैछ । किन भने संसारभरका सेयर बजारमा अनलाइन प्रणाली सुरु भएपछि व्यापक विस्तार भएका उदाहरण छन् ।

स्वेदश तथा विदेशमा बस्ने जो कोहीले सजिलै सेयर किनबेच गर्न सक्ने भएका छन् । लगानीकर्ताको हातमा माउस भएकाले पनि थप सहज भएको हो । विगतमा सेयर बेच्न कागजी प्रमाणपत्र लिएर ब्रोकर कार्यालयसम्म धाउनु पर्दथ्यो । लाभांश लिन पनि निकै झन्झटिलो थियो । सेयर रजिष्ट्रार तथा कम्पनीको सेयर शाखामा घन्टौं लाइन बस्नुपर्ने बाध्यता थियो । अहिले यी सबै समस्या समाधान भएका छन् ।

घर वा कार्यालयमा बसेर एक क्लिक गरेको भरमा सेयर किनबेच गर्न पाइन्इछ । कम्पनीले दिने नगद लाभांश अनि बैंक खातामा बोनस सेयर डिम्याट खातामा आइपुग्छ । त्यतिमात्र होइन, विगतमा ब्रोकरहरुले समयमा फोन नउठाउने, चाहेका बेला किनबेच नगरिदिएका लगायतका आरोप लगानीकर्ताले लगाउने गरेका थिए । तर अहिले यी सबै समस्या समाधान भएका छन् ।

आफैंले किनबेच गर्न पाउने भएपछि यस्तो समस्या नै परेन । यसैगरी, सेयर राफसाफ चक्र दुई दिनमा झार्दा बजारमा थप तरलता पैदा हुन सजिलो भएको छ । यी सेयर बजारका लागि निकै सकारात्मक पक्ष हुन् । नेप्से सूचक ३२.६७ अंकले घटेर २६०७.६७ विन्दुमा अडिएको छ । ८ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २०७ कम्पनीको २ करोड १६ लाख १४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।



१२ मध्ये २ बाहेक बाँकी सबै समूहको सूचक घटेका छन् । वाणिज्य बैंक समूह ५२.५५ विन्दुले तल झरेको छ । ८ कम्पनीको भाउ ९% भन्दा माथि वृद्धि भएका छन् । खरिदबिक्री रकममा एनआइसी एसिया बैंक अग्रस्थानमा आएको छ । यसको ३८ करोड २४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 



Post Your Comment