Market Closed

वाणिज्य बैंकहरुको सेयर अन्डरभ्याल्यूड कि ओभरभ्याल्यूड ? हेर्नुहोस् पीइ रेसियो

19 Feb,2021
  • pe-price-to-earnings-ratio_2_19_2021_7_23_19.png
नेपाली पैसा
 
काठमाडौं : पछिल्लो समय सेयर बजार बुलिस ट्रेन्डमा रहेको छ । यसैबीच, वाणिज्य बैंकहरुले दोस्रो त्रैमासको वित्तीय विवरण पनि सार्वजनिक गरिसकेका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समग्रमा नाफा लगायत प्रमुख सूचकहरु बढेको छ । प्रतिसेयर आम्दानी पनि सुधार हुँदै गएको छ । दरियो पुँजी आधार, कडा नियमन लगायतका कारणबाट वाणिज्य बैंकहरुको सेयर लगानी अन्य क्षेत्रको तुलनामा निकै सुरक्षित मानिएको छ । साथै, अहिले कायम मूल्यले पनि सेयर भाउ निकै सस्तो देखिन्छ ।
 
अझै केही वाणिज्य बैंकहरुको मूल्य–आम्दानी अनुपात (पीइ रेसियो) ले सेयर भाउ सस्तो नै रहेको देखाउँछ । यसर्थ, दीर्घकालीन लगानी गर्न चाहनेका लागि अहिले पनि राम्रो समय रहेको छ । कुनै पनि कम्पनीको पीइ रेसियोले सामान्यतयः १ रुपैयाँ प्रतिफल पाउन कति मूल्य तिर्नुपर्छ भन्ने जानकारी गराउँछ । पीइ रेसियो २० भन्दा कम भएका कम्पनीहरुलाई निकै सुरक्षित मान्ने चलन छ । तर पीइ २० भन्दा बढी हुँदैमा जोखिम भइसकेको भन्ने होइन । 
 
अहिलेको बुलिस बजारमा वाणिज्य बैंकहरुको पीइ रेसियो ४० भन्दा माथि पुगेको देख्न सकिन्छ । अन्य क्षेत्र तथा समूहका कम्पनीहरुको तुलनामा अहिले पनि बैंकहरुको पीइ रेसियो निकै कम देखिन्छ । पीइ सेयर लगानीको एउटा महत्वपूर्ण आधार हो । तर पीइ बढी हुँदैमा लगानी गर्नुहुँदैन भन्ने पनि होइन । पीइसँगै अन्य केही सूचकहरु पनि महत्वपूर्ण मानिन्छन् । सामान्यतयः पीइ रेसियो थोरै भएका कम्पनीहरुमा लगानी गर्न सिफारिस गरिन्छ । तर पीइलाई मात्र आधार मानेर लगानी गर्नुपर्छ भन्न खोजिएको होइन ।
 
पीइसँगै अन्य आधारहरु पनि हुन्छन् भन्ने चाहिँ बिर्सिनु हुँदैन । कहिलेकाँही लगानीकर्ताहरु न्यून पीइ भएका कम्पनीलाई छाडेर धेरै पीइ भएकातर्फ आकर्षित भएका पनि व्यवहारमा भने देखिन्छ । पछिल्लो तथ्यांक बिहीबार (फागुन ६) को सेयर मूल्य (क्लोजिङ प्राइस) लाई आधार मान्दा ८ वाणिज्य बैंकको पीइ रेसियो २० भन्दा कम छ । यता, सिभिल र हिमालयन बैंकको भने पीइ ४० भन्दा माथि छ । हेरौं, कुन बैंकको पीइ रेसियो कति छ ? 
 
(नोट : इपीएस कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणको आधारमा लिइएको हो । नबिलले भने वित्तीय विवरणमा प्रतिसेयर आम्दानी ४०.०४ रुपैयाँ देखाएको भए पनि हाल कायम चुक्ता पुँजीका आधारमा हिसाब गर्दा वास्तविक प्रतिसेयर आम्दानी २९ रुपैयाँ ९१ पैसा मात्र हुन आउँछ । यस्तै अन्य केही बैंकहरुको पनि प्रतिसेयर आम्दानीमा गडबढी देखिन्छ ।) 
 
के हो पीइ रेसियो ?
 
लगानी गर्नुअघि सम्बन्धित कम्पनीको समग्र वित्तीय सूचकहरुको राम्रो अध्ययन गर्नु जरुरी हुन्छ । यस्तै, अल्पकालीन होस् या दीर्घकालीन, दुवैथरीका लगानीकर्ताका लागि महत्वपूर्ण सूचकमध्ये पीइ रेसियो पनि एक हो । कम्पनीको पछिल्लो बजार भाउलाई प्रतिसेयर आम्दानीले भाग गर्दा आउने अनुपात नै पीइ रेसियो हो । पीइ रेसियोले कम्पनी ‘अन्डरभ्यालुड’ वा ‘ओभरभ्यालुड’ के हो भन्ने छुट्याउन मद्दत पुर्याउने भएकाले लगानीमा यसलाई महत्वपूर्ण सूचक मानिन्छ ।
 
सामान्यतयः पीइ रेसियो थोरै भएका कम्पनीहरुमा लगानी सुरक्षित मानिन्छ । तर पीइ कम हुँदैमा सधैं सबै कम्पनी राम्रा हुन्छन् भनेर मात्र चाहिँ बुझ्नु हुँदैन । अनि, पीइ केही बढी हुँदैनमा त्यो कम्पनीमा लगानी गर्नु हुँदैन भन्ने पनि सधैं सोच्नु हुँदैन । यसमा अन्य केही पक्षहरुको पनि भूमिका रहने गर्छ । 
 
पीइसँगै अन्य सूचकहरु पनि उत्तिकै ध्यान दिनुपर्ने हुन्छ । अहिले त पीइसँग कम्पनीको ग्रोथलाई पनि विशेष ख्याल गर्न थालिएको छ । भविष्यको सम्भावनातर्फ पनि ध्यान दिनुपर्छ । अर्कोतर्फ पीइ रेसियोको आधारमा तुलना गर्दा एउटै व्यवसाय गर्ने कम्पनीहरु वा एउटै इन्डस्ट्रीका बीचमा मात्र गर्न उचित हुन्छ । मूल्य आम्दानी अनुपातका केही सीमाहरु पनि रहेका छन् । कम्पनीको कमाई उसको विगतको कमाई हो ।
 
विगतको कमाईले मात्र सधैं भविष्यको नतिजा ग्यारेन्टी गर्दैन । विगतमा राम्रो कमाएको कम्पनीले भविष्यमा पनि राम्रै गर्छ भनेर ग्यारेन्टी गर्न सकिँदैन । यसैगरी, विगतमा राम्रो परफर्मेन्स गर्न नसकेका कम्पनीले पनि भविष्यमा निकै राम्रो गर्न सक्ने सम्भावना पनि रहन सक्छ । यसर्थ, लगानीकर्ताले यी विषयहरु पनि ख्याल गर्नुपर्ने हुन्छ । अन्त्यमा, तर पीइ रेसियो लगानीकर्ताले विश्लेषण गर्नैपर्ने महत्वपूर्ण सूचक चाहिँ हो ।
 

Post Your Comment