Market Closed

आइपीओ आवेदनमा नयाँ रेकर्ड : इन्फ्रास्ट्रक्चर बैंकमा २.३९ गुणा बढी आवेदन, कतिले भरे ?

19 Jan,2021
  • ipos_n_10_11_2020_4_41_18_12_27_2020_12_55_09.jpg
नेपाली पैसा
 
काठमाडौं : आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्याले नयाँ रेकर्ड राखेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा हालसम्मकै उच्च १५ लाख २९ हजार ४६० जनाले आवेदन दिएका छन् । अन्तिम दिन मंगलबारसम्म उक्त संख्यामा आवेदन परेको हो । सीडीएस एन्ड क्लियरिङ लिमिटेडको तथ्यांक अनुसार १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताका लागि आवेदन परेको छ ।

कुल १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । कम्पनीले माघ २ गतेदेखि मंगलबार (माघ ६ गते) सम्म सर्वसाधारणका लागि ७ करोड ५८ लाख ४० हजार कित्ता आइपीओ खुला गरेको हो। यसआधारमा, सर्वसाधारणले मागभन्दा २.३९ गुणा बढी आवेदन दिएका हुन् ।
 
यता, सीडीएस एन्ड क्लियरिङको मंगलबारसम्मको तथ्यांक अनुसार नेपालमा कुल डिम्याट खाताको संख्या २६ लाख १० हजार ८६२ रहेको छ । इन्फ्रास्ट्रक्चर बैंकमा परेको आवेदनलाई आधार मान्ने हो भने कुल डिम्याट खातामध्ये ५८.५८% डिम्याट खाताबाट आवेदन परेको देखिन्छ । कम्पनीले कुल ८ करोड कित्ता सेयरमध्ये ०.२०% अर्थात १ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५% ले हुने ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी सेयर सर्वसाधारणमा जारी गरेको हो ।
 
यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । लगानीकर्ताहरुले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । इक्रा नेपालले बैंकलाई ‘इक्राएनपी आइआर त्रिपल बी’ रेटिङ्ग प्रदान गरेको छ । यसले बैंकको वित्तीय अवस्था मध्यम रहेको जनाउँछ ।

Post Your Comment