Market Closed

एनएमबि बैंकको सेयर कारोबार खुल्यो, लगानीकर्तालाई खरिदबिक्री मौका

07 Nov,2019
  • NMB-bank-Ltd_8__8_16_2018_10_55_11.jpg
नेपाली पैसा 
 
काठमाडौं : एनएमबि बैंकको आज बिहीबारबाट नेप्सेमा सेयर कारोबार खुला भएको छ । ओम डेभलपमेन्ट बैंकसँग मर्जर प्रक्रिया सम्पन्न गरेपछि दोस्रो बजारमा पनि सेयर कारोबार खुला गरिएको हो । नेप्सेका अनुसार एनएमबि संकेतमा सेयर कारोबार खुला भएको छ । पहिलो कारोबारका लागि नेप्सेले ओपन रेन्ज समेत तोकेको छ । जस अनुसार बिहीबार एनएमबिको प्रतिकित्ता ३५१ रुपैयाँलाई आधार मानेर सेयर कारोबार खुलेको छ ।

मर्जरका कारण लामो समयदेखि यसका ओम र एनएमबिको सेयर कारोबार हुन सकेको थिएन । ओमका सेयरधनीले पनि एनएमबिको सेयर पाएका छन् । दुवै बैंक मर्जर भएर गत असोज ११ गतेदेखि एकीकृत कारोबार सुरु भएको थियो । एकीकृत कारोबारका लागि राष्ट्र बैंकले असोज १ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असोज ५ गते अन्तिम स्वीकृति दिएको थियो । एनएमबि र ओमले मर्जरका लागि गत जेठ २ गते सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
 
यस्तै, एनएमबिको साउन २८ गते बसेको विशेष साधारण सभा र ओमको साउन २७ गते बसेको वार्षिक साधारण सभाले मर्जर प्रस्ताव अनुमोदन गरेको थियो । एनएमबि र ओमबीच १००ः७६ अनुपातमा मर्जर भएको हो । यसआधारमा ओमको १०० कित्ता सेयर हुने लगानीकर्ताले एनएमबिको ७६ कित्ता सेयर पाएका छन् । मर्जरपछि एनएमबिको अधिकृत, जारी तथा चुक्ता पुँजीमा वृद्धि भएको छ ।
 
यसैगरी, नेप्सेमा एनएमबि बैंकको १ करोड ९१ लाख १५ हजार ७९०।५६ कित्ता सेयर सूचीकरण समेत भएको छ । एनएमबि र ओम मर्जरपछि कायम रहेको सेयर सूचीकरण गरिएको हो । 

Post Your Comment