नेपाली पैसा
काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा एनएमबि बैंकले ८१ करोड ५१ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिमा भन्दा ४८.०५% ले बढी हो । गत वर्ष यसैअवधिमा बैंकले ५५ करोड ५ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
असोज मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा ५३ करोड ६१ लाख रुपैयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी २५.३३% ले बढेको छ भने सञ्चालन नाफा ५५.८३% ले घटेको छ । निक्षेप संकलन र कर्जा लगानी क्रमशः ४२.०३% र ३३.२६% ले बढेको छ । बैंकको खुद नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ ।
प्रतिसेयर आम्दानी ६ रुपैयाँ ०७ पैसाले बढेर ३२ रुपैयाँ ५१ पैसामा आएको छ । एनएमबिले लगानीकर्तालाई गत वर्षको नाफाबाट ३५% लाभांश दिने प्रस्ताव गरेको छ । जसमध्ये २१% बोनस सेयर र १४% नगद लाभांश रहेको छ । ओम डेभलपमेन्ट बैंकसँग मर्जर प्रक्रिया सम्पन्न भएर दोस्रो बजारमा पनि सेयर कारोबार खुला भइसकेको छ ।