प्राइम कमर्शियलको हकप्रदलाई ग्रेड ३ रेटिङ

11 Sep,2016
  • prime_commercial_resize_9_11_2016_3_33_18.jpg

काठमाडौं । प्राइम कमर्शियल बैङ्कले निष्कासन गर्न लागेको रू. १ अर्ब २३ करोड ५० लाखको हकप्रद शेयरलाई इक्रा नेपालले ग्रेड ३ रेटिङ दिएको छ । यसले यो हकप्रद शेयरको आधारभूत पक्ष औसतमा रहेको देखाउँछ ।

बैङ्कको विगत ५ वर्षदेखि बैङ्कको व्यवसायमा स्वस्थ वृद्धि (सीएजीआर १९ प्रतिशत), पूँजी पर्याप्तता १२ दशमलव २ प्रतिशत, अनुभवी सञ्चालक समिति, उच्च मुनाफा आर्जन, ब्याज अन्तर दर ३ दशमलव शून्य ४ प्रतिशत, न्यून सञ्चालन खर्च, औसत कुल सम्पत्तिसँग खुद नाफाको दर १ दशमलव ९३ प्रतिशत र नेटवर्थसँग खुद नाफाको दर २० प्रतिशतजस्ता पक्षलाई सकारात्मक पक्षका रूपमा लिएको छ । इक्राको मूल्याङ्कन कम्पनीको २०७२ चैत्र मसान्तको वित्तीय प्रतिवेदनमा आधारित छ ।

तर, ९ वर्षदेखि सञ्चालन रहेको यस बैङ्कको निक्षेपको आधार अस्वस्थ रहेको इक्राको भनाइ छ । साथै, कुल निक्षेपमा पनि कम्पनीको कम लागतको निक्षेपको हिस्सा १९ प्रतिशत मात्रै रहेको र समग्र वाणिज्य बैङ्कहरूको यस्तो औसत भने ५० प्रतिशत रहेको पनि इक्राले औंल्याएको छ । त्यस्तै, कम्पनीका मुख्य २० ग्राहकले २७ प्रतिशत कर्जा लिएको र कुल निक्षेपमध्ये ३४ प्रतिशत हिस्सा २० प्रमुख निक्षेपकर्ताको रहेकोलाई पनि इक्रा नेपालले नकारात्मक पक्षमा लिएको छ ।

प्राइम कमर्शियल बैङ्कका ३० शाखा, २ एक्स्टेन्सन काउण्टर र २५ एटीएम सञ्चालनमा छ । गत चैत मसान्तमा वाणिज्य बैङ्कहरूको कुल निक्षेपमध्ये प्राइम कमर्शियल बैङ्कको हिस्सा २ दशमलव ८३ र कुल कर्जामा २ दशमलव ९७  रहेको छ ।