राष्ट्रिय बिमा कम्पनीले तीन आर्थिक वर्षको लेखा परीक्षण गर्ने, खोज्यो परामर्श सेवा कम्पनी

06 Jul,2016
  • rbl_7_6_2016_2_29_06.jpg
 नेपाली पैसा 
काठमाडौं : राष्ट्रिय बिमा कम्पनीले तीन आर्थिक वर्षको लेखा परीक्षणका लागि प्रारम्भिक प्रक्रिया अघि बढएको छ । 
 
कम्पनीले लेखा परीक्षणका लागि नेपालमा दर्ता भएका क वर्गका लेखा परीक्षण संस्थाबाट परामर्श सेवा लिने भएको छ ।

यसका लागि लेखा परीक्षणसम्बन्धी परामर्श सेवा दिने संस्थाको खोजी गरिएको छ । कम्पनी छनोट भएपछि मात्रै लेखा परीक्षणको काम सुरू हुनेछ । 
 
कम्पनीले विगत चार वर्षयताको लेखा परीक्षण गर्न बाँकी भए पनि तत्काल आर्थिक वर्ष २०६८–२०६९ देखि आव २०७०–७१ सम्मको लेखा परीक्षण गर्ने तयारी गरेको हो । 
 
बिमा समितिको निर्देशन अनुसार जीवन र निर्जीवन बिमा व्यवसाय एउटै संस्थाले गर्न नपाउने भएपछि राष्ट्रिय बिमा संस्थानबाट बिमा कम्पनीका रूपमा अलग भई कारोबार थालेको हो । 
 
बिमा कम्पनीले निर्जीवन बिमा व्यवसायमात्र गर्छ भने बिमा संस्थानले जीवन बिमा गर्दैआएको छ । 
 
चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक रिपोर्ट अनुसार कम्पनीको चुक्ता पुँजी १२ करोड ४४ लाख ४० हजार रूपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा एक अर्ब ८२ करोड एक लाख ९० हजार रूपैयाँ जम्मा भएको छ । 
 
एक सय ३३ रूपैयाँ प्रतिसेयर आम्दानी भएको यस कम्पनीको संस्थापक सेयरको अहिले १८ हजार रूपैयाँ हाराहारीमा दोस्रो बजारमा किनबेच भइरहेको छ ।