यस्ता पनि छन् कम्पनी : १२ करोड चुक्ता पुँजी, १६ करोड खुद नाफा

16 Aug,2016
  • rastriya_beema_8_16_2016_11_50_36.jpg
नेपाली पैसा
काठमाडौं : राष्ट्रिय बिमा कम्पनीले १६ करोड ३७ लाख ९४ हजार रूपैयाँ खुद नाफा कमाएको छ ।

१२ करोड ४४ लाख ४० हजार रूपैयाँ चुक्ता पुँजी भएको कम्पनीले १६ करोडभन्दा बढी आम्दानी गरेको वित्तीय विवरण मंगलबार सार्वजनिक गरेको हो ।

अझ अघिल्लो वर्ष कम्पनीको खुद नाफा १७ करोड ९१ लाख ९० हजार रूपैयाँ थियो । यस आधारमा नाफा एक करोड ५३ लाख ९६ हजार रूपैयाँ घटेको हो ।

अर्को आकर्षक पक्ष के हो भने १२ करोड ४४ लाख ४० हजार रूपैयाँ चुक्ता पुँजी भएको कम्पनीको रिजर्भ कोषमा एक अर्ब ८१ करोड ८८ लाख ६५ हजार रूपैयाँ जम्मा भएको छ ।

चुक्ता पुँजी भन्दा खुद नाफा बढी हुनु अनि खुद नाफाको पनि निकै गुणा बढी रिजर्भ कोषमा पैसा हुनुले लगानीकर्तालाई आकर्षण गर्ने देखिन्छ ।

कम्पनीको बिमा कोषमा ९५ करोड ८३ लाख ३५ हजार रूपैयाँ छ । राष्ट्रिय बिमा कम्पनीले २६ करोड ७५ लाख ३९ हजार रूपैयाँ खुद बिमा शुल्क आर्जन गर्न सफल भएको छ ।

यस अवधिमा यो कम्पनीले ११ करोड ७३ लाख ४५ हजार रूपैयाँ दाबी भुक्तानी पनि गरेको देखाएको छ । प्रतिसेयर आम्दानी १३१.६३ रूपैयाँ हुँदा प्रतिसेयर नेटवर्थ चाहिँ २,३३१.७७ रूपैयाँ छ ।