सानिमाको यस्तो शान, २७ करोडभन्दा बढी खुद नाफा गर्दा खराब कर्जा ०.०५ प्रतिशतमात्रै

24 Oct,2016
  • sanima-bank_10_24_2016_10_36_58.jpg
नेपाली पैसा 
 
काठमाडौं : सानिमा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पनि फराकिलो नाफा गर्दै आफ्नो विगतको शानलाई सुरक्षित राख्न सफल भएको छ । 
 
चुक्ता पुँजी आठ अर्ब पुर्याउनुपर्ने बाध्यता रहँदा बैंकहरूलाई विगतमा आर्जन गरेको नाफा सुरक्षित राख्ने अनि रिजर्भ पनि बिग्रिन नदिने चुनौती छ । सानिमा बैंकले यो त्रैमासमा २७ करोड १६ लाख २२ हजार रूपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । 
 
यो नाफा गत वर्षको यसै अवधिको तुलनामा नौ करोड ४७ लाख ७८ हजार रूपैयाँले बढी हो । 
गत वर्ष बैंकले पहिलो त्रैमासमा जम्मा १७ करोड ६८ लाख ४४ हजार रूपैयाँमात्र खुद नाफा कमाएको थियो । 
 
सानिमाले खुद नाफा वृद्धि गर्न सक्नुमा ब्याज आम्दानी नै प्रमुख कारण देखिएको छ । यो बैंकले असोज मसान्तसम्ममा ५३ करोड २९ लाख ३८ हजार रूपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ । 
 
जबकी गत आर्थिक वर्षको यही बेला बैंकको खुद ब्याज आम्दानी जम्मा ३२ करोड ४५ लाख ३३ हजार रूपैयाँमात्र थियो । फराकिलो स्प्रेड अन्तर कायम गर्न सकेकाले मनग्ये ब्याज आम्दानी हुन सकेको छ । 
 
चुक्ता पुँजी पाँच अर्ब २७ करोड ८९ लाख ९७ हजार रूपैयाँ अनि रिजर्भमा एक अर्ब एक करोड ५६ लाख ४७ हजार रूपैयाँ बनाएको सानिमाले पुँजी वृद्धिसँगै व्यापारको आयतन पनि फराकिलो बनाउँदै लगेको छ । 
 
बैंकले ४८ अर्ब रूपैयाँभन्दा बढी निक्षेप संकलन गरी ४४ अर्ब रूपैयाँभन्दा धेरै कर्जा प्रवाह गर्न सफल भएको छ । सम्भावित जोखिमका लागि प्रोभिजनमा ६ करोड ५३ लाख १४ हजार रूपैयाँ छु्ट्याउँदा १४ लाख ४२ हजार रूपैयाँ राइट ब्याक भएको देखाइएको छ । 
 
खराब कर्जा ०.०५ प्रतिशतमै सीमित गर्न सफल सानिमाको कस्ट अफ फन्ड जम्मा ३.७७ प्रतिशतमात्र छ । २०.१९ रूपैयाँ प्रतिसेयर आम्दानी गर्दा प्रतिसेयर सेयर नेटवर्थ ११९.२४ रूपैयाँ छ । इक्विटीमा प्रतिफल हेर्दा १६.९४ प्रतिशत देखिन्छ ।