Market Closed

पैंतीस प्रतिशत लाभांश प्रस्ताव गरेको स्वदेशीले फेरि २५% हकप्रद पनि ल्याउने

08 Nov,2019
  • Right-Share_new_11_8_2019_1_05_05.jpg
नेपाली पैसा
 
काठमाडौं : स्वदेशी लघुवित्त वित्तीय संस्थाले मंसिर १६ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले ३५% लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्नेछ । गत वर्षको नाफाबाट २०% बोनस सेयर र १३.२५% नगद लाभांश दिन लागेको हो । कर तिर्न थप १.७५% नगद पनि दिनेछ । सभा होटल पाथिभराको सभाहल इटहरी, ९ सुनसरीमा बिहान ११ बजे सुरु हुनेछ । 
 
बोनसपछि कायम हुने पुँजीबाट फेरि २५% हकप्रद ल्याउने अर्को विशेष प्रस्ताव पनि पेश गर्दैछ । हाल यसको चुक्ता पुँजी २३ करोड रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी २७ करोड ६० लाख रुपैयाँ पुग्नेछ । स्वदेशीले यही पुँजीबाट ६ लाख ९० हजार कित्ता (२५%) हकप्रद ल्याउन लागेको हो । कम्पनीले गत वर्ष असोज–कात्तिकमा पनि ११ लाख ५० हजार कित्ता (१००%) हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । 
 
सभामा कम्पनीले अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि लैजाँदैछ । आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
 
सभा प्रयोजनका लागि स्वदेशीले मंसिर ६ गते देखि मंसिर १६ गतेसम्म बुक क्लोज गर्नेछ । मंसिर ५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा स्वदेशीले १ करोड ९१ लख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ । 


Post Your Comment