समता लघुवित्तको हकप्रद भर्ने आज अन्तिम मौका

17 Nov,2019
  • Right-Share_new_11_17_2019_10_11_11.jpg
नेपाली पैसा 
 
काठमाडौं : समता लघुवित्त वित्तीय संस्थाको २००% हकप्रद सेयरमा आवेदन दिने आज आइतबार (मंसिर १ गते) अन्तिम दिन हो । समताले असोज २७ गते सोमबारबाट हकप्रद खुला गरेको थियो । यस लघुवित्तले हाल कायम चुक्ता पुँजी ६ करोड ६ लाख ७२ हजार रुपैयाँको आधारमा २००% हकप्रद सेयर बिक्रीमा ल्याएको हो । समता लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँका दरले १ः२ अनुपातमा कुल १२ लाख १३ हजार ४४० कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । 
 
कम्पनीले हकप्रद सेयर निष्कासनका लागि असोज १ बुक क्लोज गरिसकेको छ । भदौ ३१ गते सम्म कायम सेयरधनीले यो हकप्रद दाबी गर्न सक्नेछन् । बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा शाखा कार्यालयहरु लालदरबार, काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुंगा पोखरा, आदर्शनगर वीरगञ्ज, ट्राफिकचोक बुटवल र गोल्छाचोक विराटनगरबाट आवेदन दिन सकिनेछ ।
 
 समता लघुवित्तको जीतपुर, सिमरा कार्यालयबाट पनि फारम पाइनेछ । सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट हकप्रद भर्न पाइने छ । रेटिङ एजेन्सी केयर नेपालले यस हकप्रदलाई औसत आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ । हकप्रदबाट जम्मा भएको रकम तरलता व्यवस्थापन, बैंक तथा वित्तीय संस्थामा मौज्दात राख्न एवं कर्जा लगानीमा प्रयोग गरिने कम्पनीको भनाई छ ।
 
समताले केही समयअघि वितरण गरेको ६.६६% बोनस सेयरपछि कायम भएको ६ करोड ६ लाख ७२ हजार रुपैयाँ चुक्ता पुँजीको २००% हकप्रद जारी गरेको हो । हकप्रदपछि पुँजी १८ करोड २० लाख १६ हजार रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको अन्त्यसम्म यस लघुवित्तले २ करोड ५७ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ३२ पैसा (वार्षिक) रहेको समताको प्रतिसेयर नेटवर्थ २३८ रुपैयाँ ८७ पैसा छ ।

Post Your Comment