समता माइक्रोफाइनान्सको आइपीओमा एक अर्ब ८८ करोडको आवेदन, माग भन्दा २१४ गुणा बढी

08 Jan,2017
  • ipo_1_8_2017_1_27_18.jpg
नेपाली पैसा 
 
काठमाडौं : समता माइक्रोफाइनान्स वित्तीय संस्थाको आइपीओमा एक अर्ब ८८ करोड ३१ लाख रूपैयाँभन्दा बढीको आवेदन परेको छ । यो मागको तुलनामा करिब २१४ गुणाले बढी हो । समताले कुल ९४ हजार आठ सय कित्ता आइपीओ बिक्री खुला गरेको हो । कुल निष्कासन गरिएको सेयरमध्येबाट एक हजार आठ सय ९६ कित्ता सेयर कर्मचारीलाई दिइएको छ भने चार हजार सात सय ४० कित्ता सेयर सामूहिक लगानी कोष कम्पनीले पाएका छन् । यस आधारमा सर्वसाधारणको भागमा जम्मा ८८ हजार एक सय ६४ कित्तामात्र परेको छ । यो संख्यालाई हिसाब गर्दा समतामा मागको तुलनामा २१४ गुणा बढी आवेदन परेको देखिन्छ । 
 
बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल लिमिटेडका मर्चेन्ट बैंकिङ प्रमुख बद्री प्याकुरेलले समताको आइपीओमा एक अर्ब ८८ करोड ३१ लाख रूपैयाँभन्दा बढीको आवेदन परेको बताए । ‘मागको तुलनामा २१४ गुणा बढी आवेदन पर्यो,’ उनले नेपाली पैसासँग भने । चेक फिर्ता पनि हुने भएकाले यो संख्यामा आइपीओ बाँडफाँड गर्ने बेलामा सामान्य तलमाथि हुन भने सक्छ ।

एक सय रुपैयाँ अंकित मूल्यको यो आईपीओमा न्यूनतम ५० कित्ता र अधिकतम पाँच सय कित्तासम्म सेयर भर्न पाइने व्यवस्था गरिएको थियो । मागको तुलनामा निकै बढी आवेदन परेकाले साना लगानीकर्ताले गोलाप्रथा प्रणालीमार्फत सेयर पाउने निश्चित जस्तै भएको छ । समताले पुस १९ देखि २२ गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो ।