सनराइज बैङ्क : कम्पनी विश्लेषण (आइतवार, ९ असोज २०७३)

25 Sep,2016
  • sunrise_9_25_2016_3_05_24.png


२०७२/७३ आवको चौथो त्रैमासको वित्तीय विवरणअनुसार खुद नाफा २ गुणा बढेको छ । बैङ्कको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले ३३ दशमलव ३३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्ताव राष्ट्र बैङ्क र साधारणसभाबाट पारित भएमा शेयरधनीलाई वितरण गरिनेछ ।

प्राविधिक विश्लेषण
मैनबत्ती विश्लेषण : अन्तिम व्यापार दिनमा ‘ग्रेभस्टोन डोजी’ बनेको छ । तल्लो मूल्य रेञ्जमा पुगेर बनेको यस डोजीले कम्पनीको शेयरमूल्य बढ्ने सङ्केत गर्दछ । यसको विश्वसनीयता सामान्य रहेको छ ।

आरएसआई : न्युट्रल जोन (६३ दशमलव ५५ स्केल)मा छ । खरीदविक्री चाप बढेको सन्तुलनमा रहेको छ । स्ट्याण्डर्ड डेभिएशन : २६ दशमलव ६४ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र सातदिने औसत मूल्यरेखा एकअर्कासँग टाढिँदैै गएका छन् । हालको मूल्य सातदिने औसत मूल्य रेखाभन्दा माथि छ भने ट्रेण्ड लाइन र २१ दिने औसत मूल्य रेखाभन्दा तल छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. ७ सय  ८० मा टेवा पाउने र मूल्य महँगिएमा रू. ९ सय ५८ मा प्रतिरोध पाउने सङ्केत देखिन्छ ।

आधारभूत विश्लेषण
कम्पनीको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार २०७१/७२ आर्थिक वर्ष र २०७२/७३ आर्थिक वर्षबीच तुलना गर्दा :
- बैङ्कको चौथो त्रैमासमा नाफा २ गुणा बढेर रू. ९५ करोड १७ लाख पुगेको छ । सञ्चालन मूनाफा २ गुणा बढ्नाले र पछिल्लो समयमा रहेको रू. ५५ करोड ६३ लाख खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल हुनाले खुद नाफा बढेको हो ।

- चुक्तापूँजीको तुलनामा खुद नाफा १५ दशमलव ८४ प्रतिशतबाट बढेर २३ दशमलव ९४ प्रतिशत पुगेको छ ।

- रू. ५१ अर्ब ६५ करोड कुल निक्षेप सङ्कलन गरी रू. ४२ अर्ब ८६ करोड कर्जा प्रवाह गरेको छ ।

- ब्याज आम्दानी २८ दशमलव ८४ प्रतिशत बढेर रू. ३ अर्ब ९ करोड र ब्याज खर्च २२ दशमलव ८० प्रतिशत बढेर रू. १ अर्ब ५९ करोड पुगेको छ ।

- कर्मचारी खर्च ३० दशमलव ४७ प्रतिशत, अन्य सञ्चालन खर्च २० प्रतिशत र कुल सञ्चालन नाफा ३७ दशमलव ९७ प्रतिशत बढेको छ ।

- स्थिर सम्पत्ति ३२ दशमलव ३४ प्रतिशत र अन्य सम्पत्ति २ गुणा बढेको छ ।

- बैङ्कले सम्भावित जोखीमबापतको व्यवस्थामा रकम रू. ३२ करोड ५३ लाख छुट्ट्याएको छ ।

- पूँजीकोष लागत ४ दशमलव ५२ प्रतिशत र पूँजीकोष पर्याप्तता १२ प्रतिशत रहेको छ ।

- बैङ्कको चौथो त्रैमासको वित्तीय विवरणअनुसार तरलता अनुपात २५ गुणा, प्रतिशेयर आम्दानी रू. २३ दशमलव ९८ र मूल्य आम्दानी अनुपात ३१ गुणा छ । सो आम्दानी र पछिल्लो समयको शेयर मूल्यको आधारमा निकालिएको पीई रेशियो करीब ३८ गुणा छ । हालको शेयरमूल्य नेटवर्थको ६ गुणा छ ।