सनराइजले कसरी गर्न सक्यो यस्तो चमत्कार ? खुद ब्याज आम्दानीमा पनि भयो कमाल

23 Oct,2016
  • sunrise-ps_10_23_2016_10_57_26.jpg
नेपाली पैसा 
काठमाडौं : सनराइज बैंकले पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफामा चमत्कार गरेको छ । 
 
चुक्ता पुँजी बढाउन आकर्षक बोनसका साथमा हकप्रद सेयर दिएको यो बैंकले पहिलो त्रैमासमा खुद नाफा २५ करोड ३१ लाख १६ हजार रूपैयाँ कमाएको छ । 
 
यो नाफा गत वर्षको तुलनामा दोब्बरभन्दा बढी हो । बैंकले गत वर्ष यसैअवधिमा जम्मा ११ करोड ७८ लाख दुई हजार रूपैयाँमात्र खुद नाफा कमाएको छ । 
 
यस आधारमा नाफा गत वर्षभन्दा १३ करोड ५३ लाख १४ हजार रूपैयाँले बढी हो । खुद ब्याज आम्दानीमा आकर्षक बढोत्तरी गर्न सकेकाले बैंकको समग्र नाफा बढेको हो । 
 
गत वर्ष जम्मा २८ करोड हाराहारीमा खुद ब्याज आम्दानी गरेको सनराइजले यसपालि खुद ब्याज आम्दानी बढाएर ५१ करोड ५६ लाख ५८ हजार रूपैयाँ पुर्याउन सफल भएको छ । 
 
निक्षेपमा न्यून ब्याजदरको फाइदा बैंकले मज्जाले लिएको देखिन्छ । गत वर्षको नाफाबाट दिएको बोनससमेत हिसाब गर्दा बैंकको चुक्ता पुँजी पाँच अर्ब ३० करोड १३ लाख ९६ हजार रूपैयाँ पुगिसकेको छ । 
 
बैंकको रिजर्भ कोषमा एक अर्ब नौ करोड ६३ लाख ८७ हजार रूपैयाँ जम्मा भएको छ । 
सनराइजले व्यापारको आकार फराकिलो बनाउनेक्रममा निक्षेप संकलन र कर्जा प्रवाहलाई बढोत्तरी गर्न सफल भएको छ ।

गत वर्ष ३५ अर्ब हाराहारीमा मात्र निक्षेप रहेको यो बैंकले यसपटक निक्षेप ५४ अर्बभन्दा बढी पुर्याइसकेको छ । सोही आधारमा कर्जा प्रवाह पनि बढाएर ४६ अर्ब रूपैयाँ कटाइसकेको छ । 
 
सम्भावित जोखिमका लागि प्रोभिजनमा १५ करोड १७ लाख ६२ हजार रूपैयाँ छुट्याएको यो बैंकले विगतमा प्रोभिजनमा राखेको सात करोड २३ लाख ४१ हजार रूपैयाँ राइट ब्याक गर्न सकेको देखिन्छ । 
 
बैंकको खराब कर्जा अनुपात १.६९ प्रतिशत, कस्ट अफ फन्ड ४.३६ प्रतिशत, प्रतिसेयर आम्दानी १९.१० रूपैयाँ अनि प्रतिसेयर नेटवर्थ १२०.६८ रूपैयाँ छ ।