Market Closed

सनराइज बैंकको ऋणपत्र बिक्री खुला, १०.२५% ब्याज

06 Nov,2019
  • debenu=ture_11_5_2019_5_36_02_11_6_2019_7_15_51.jpg
नेपाली पैसा

काठमाडौं : सनराइज बैंकले बुधबार (कात्तिक २० गते) देखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । यसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला भएको हो । यस्तै, सामूहिक लगानी कोषलाई ५% छुट्याएको छ । यस आधारमा सामूहिक लागानी कोषहरुले कुल ६० हजार इकाई पाउनेछन् । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । 
 
यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याजदर पाइनेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम ३ लाख इकाईसम्म आवेदन दिन पाइनेछ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले ७ वर्ष अवधिको ‘१०.२५% सनराइज डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गरेको हो । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी केयर नेपालले पर्याप्त सुरक्षा जनाउने “केयर एनपी ए माइनस” प्रदान गरेको छ ।

 ऋणपत्रमा छिटोमा कात्तिक २४ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने मंसिर १९ गतेसम्म भर्न पाइनेछ । ऋणपत्र निष्कसनबाट प्राप्त हुने रकम मध्ये ८०% कर्जा लागनी र २०% तरलता तथा व्यवसाय विस्तार लागि उपयोग गरिने बैंकको भनाई छ । यसमा सिद्धार्थ क्यापिटल, नारायाणचौर, काठमाडौै र सनराइज बैंकका सम्पूर्ण शाखाबाट फारम पाइनेछ । यस्तै, सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
 
पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी परिचालनका लागि ऋणपत्र जारी गर्ने क्रम बढेको छ । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०% ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्ने हुन्छ । तर ऋणपत्रमा सर्वसाधारणको चासो भने निकै कम देखिएको छ । दोस्रो बजारबाट कारोबार गर्न उत्साह नदेखिएकाले पनि ऋणपत्रमा आवेदन दिनेहरु कम देखिएको विश्लेषण गरिंदैछ ।
 
यसबाहेक केन्द्रीय बैंकले चुक्ता पुँजीको २५% ऋणपत्र जारी गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेपछि सबै बैंकले ऋणपत्र जारी गर्नुपर्ने भएको छ । यसले गर्दा पनि बजारमा आपूर्ति ह्वात्तै बढ्न गएको छ । यसबाट पनि बिक्रीमा समस्या देखिएको हो । यसअघि जारी भएका अधिकांश बैंकहरुको ऋणपत्र बिक्री हुन हम्मेहम्मे परेको छ । 
 

Post Your Comment