Market Closed

सनराइज बैंकको ऋणपत्र भर्ने आज अन्तिम दिन

05 Dec,2019
  • Sunrise-bank-Ltd_4_23_2018_10_54_51_8_14_2019_8_50_24.jpg
नेपाली पैसा
 
काठमाडौं : सनराइज बैंकको ऋणपत्र भर्ने समय आज बिहीबार (मंसिर १९ गते) सकिँदैछ । सनराइज बैंकले कात्तिक २० गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये १२ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यस्तै, सामूहिक लगानी कोषलाई ५% छुट्याएको छ । यस आधारमा सामूहिक लागानी कोषहरुले कुल ६० हजार इकाई पाउनेछन् ।

बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याजदर पाइनेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम ३ लाख इकाईसम्म आवेदन दिन पाइनेछ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले ७ वर्ष अवधिको ‘१०.२५% सनराइज डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गरेको हो । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ । 
 
पछिल्लो सयम ऋणपत्रमा सर्वसाधारणको चासो अत्यन्त कम छ । मुद्दति निक्षेपमै १०% हाराहारीमा ब्याज पाइने भएपछि ऋणपत्रतर्फ लगानीकर्ताको ध्यान नगएको हो । लामो समय होल्ड गर्न पर्ने, दोस्रो बजारबाट लाभ लिन नसकिने भएकाले पनि लगानीकर्ता यसमा विकर्षित भएका हुन् ।
 
यसको तुलनामा सेयर बजारमा केही जोखिम भए पनि पुँजीगत लाभको सम्भावना अधिक हुन्छ । लाभांश पनि पाउन सकिने र पुँजीगत लाभ समेत हुने भएकाले लगानीकर्ता जोखिम लिएर पनि सेयरमै लगानी गर्छन् । जोखिम लिन नचाहनेले बैंक मुद्दति निक्षेपमा राख्नेहरु अधिक हुन्छन् । ऋणपत्रमा पाइने जति नै ब्याज मुद्दति निक्षेपमा पनि पाइन्छ । 
 
यो ऋणपत्रलाई रेटिङ एजेन्सी केयर नेपालले पर्याप्त सुरक्षा जनाउने “केयर एनपी ए माइनस” प्रदान गरेको छ । ऋणपत्र निष्कासनबाट प्राप्त हुने रकम मध्ये ८०% कर्जा लगानी र २०% तरलता तथा व्यवसाय विस्तार लागि उपयोग गरिने बैंकको भनाई छ । यसमा सिद्धार्थ क्यापिटल, नारायाणचौर, काठमाडौै र सनराइज बैंकका सम्पूर्ण शाखाबाट फारम पाइनेछ ।

यस्तै, सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी परिचालनका लागि ऋणपत्र जारी गर्ने क्रम बढेको हो । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०% ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्ने हुन्छ । 
 
केन्द्रीय बैंकले चुक्ता पुँजीको २५% ऋणपत्र जारी गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेपछि सबै बैंकले ऋणपत्र जारी गर्नुपर्ने भएको छ । यसले गर्दा पनि बजारमा आपूर्ति ह्वात्तै बढ्न गएको छ । यसबाट पनि बिक्रीमा समस्या देखिएको हो । यसअघि जारी भएका अधिकांश बैंकहरुको ऋणपत्र बिक्री हुन हम्मेहम्मे परेको छ ।

Post Your Comment